मादुरोलाई न्यूयोर्कको हिरासत पुर्याइयो, भेनेजुएलामा अमेरिकाले शासन गर्ने
मेयरसाप डेस्क
|
२०८२ पुष २० गते ०८:४५
न्युयोर्क । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमतीलाई न्यूयोर्कको एक हिरासतमा पुर्याइएको छ। न्यूयोर्कको स्टुवर्ट एअर न्याश्नल गार्ड बेसमा अवतरणपछि उनलाई हेलिकप्टरमार्फत म्यानहटन पुर्याइएको थियो। त्यहाँबाट मादुरो दम्पतीलाई ब्रुकलिनको मेट्रोपोलिटन डिटेन्सन सेन्टर लगिएको बिबिसीले जनाएको छ ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत भेनेजुएलाका राष्ट्रपति मादुरोको तस्बिर सार्वजनिक गरेका थिए । मादुरोकी पत्नीसमेत पक्राउ गरिएको भनिए पनि तस्बिरमा भने उनी छैनन् ।
तस्बिरमा मादुरोको हातमा हतकडी र आँखामा कालोपट्टी बाँधेको देखिन्छ भने खैरो ट्र्याकसुट र हेडफोन लगाएका छन्। अमेरिकी सेनाले शनिबार भेनेजुएलाको राजधानी कराकास लगायतका शहरमा आक्रमण गरेको थियो । लगत्तै मादुरो दम्पतीलाई अमेरिकी सेनाको डेल्टा फोर्सले पक्राउ गरेको थियो ।
अमेरिकी सेनाले भेनेजुएलाका राष्ट्रपति र उनकी पत्नीलाई नियन्त्रणमा लिई देशबाहिर लगिएको दाबी गरेको थियो । यसैबीच भेनेजुएलामा अर्को सरकार नबनेसम्म अमेरिकाले नै सरकार चलाउने राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । ट्रम्पले पत्रकार सम्मेलन गर्दै भेनेजुएलामा नयाँ सरकार नबनुन्जेल अमेरिकाले शासन चलाउने बताए। ‘सुरक्षित, सही र विवेकपूर्ण सत्ता हस्तान्तरण नहुन्जेलसम्म भेनेजुएलाको शासन अमेरिकाले चलाउने छ,’ उनले भने ।
यस क्रममा उनले अमेरिकी सेनाको प्रशंसा पनि गरे । ट्रम्पले भने, ‘तयार अवस्थामा भए पनि भेनेजुएलाको सेना पूर्ण रूपमा आत्तियो र चाँडै पराजित भयो।’ उनले थपे, ‘अपरेसनका क्रममा कुनै पनि अमेरिकी सैनिक मारिएनन्, न त उनीहरूको हतियार वा उपकरणमा क्षति पुगेको छ।’ ट्रम्पले अमेरिकाले ‘समुद्रबाट आउने ९७ प्रतिशत लागुपदार्थको ओसारपसार समाप्त पारेको’ दाबी गरे।
Facebook Comments