बहुविवाह मुद्दामा डिएसपी मधु नेपाल जेल चलान
असई पुरी धरौटीमा रिहा
मेयरसाप डेस्क
|
२०८२ पुष २० गते १५:३०
रुपन्देही । बहुविवाहको अभियोगमा पक्राउ परेका नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डिएसपी) मधु नेपाल कारागार चलान भएका छन् ।
रुपन्देही जिल्ला अदालतका न्यायाधीश चाणक्यमणि अर्यालको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । डिएसपी नेपालसँगै पक्राउ परेकी प्रहरी सहायक निरीक्षक (असई) गीता पुरीलाई भने अदालतले ३० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीमा कार्यरत डिएसपी नेपालविरुद्ध उनकी जेठी पत्नी तारा नेपाल खनालले बहुविवाहको उजुरी दिएकी थिइन् । उजुरीपछि पक्राउ पुर्जी जारी भएपछि डिएसपी नेपाल र असई पुरीले मंसिर तेस्रो साता रुपन्देही प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए ।
अदालतमा बयानका क्रममा डिएसपी नेपालले असई पुरीसँग आफ्नो प्रेम सम्बन्ध रहेको र लिभिङ टुगेदरका क्रममा दुई सन्तान (५ वर्षीया छोरी र २ वर्षीय छोरा) जन्मिएको स्वीकार गरेका छन् ।
उनले जेठी श्रीमतीकै सल्लाहमा अर्को विवाह गरेको दाबी गरे पनि अदालतले उनलाई थुनामा पठाउने निर्णय गरेको हो । असई पुरी बुटवलस्थित नेपाल प्रहरी विशेष सुरक्षा गणमा कार्यरत थिइन् ।
रुपन्देही प्रहरी प्रवक्ता सुरज कार्कीले अदालतको आदेश बमोजिम डिएसपी नेपाललाई कारागार पठाइएको र असई पुरी धरौटी बुझाएर रिहा भएको पुष्टि गरे ।
Facebook Comments