असारभित्रै सकिने गरी १४ वर्षपछि बन्दैछ कमला पुल
सिरहा र धनुषाबासीको सास्ती हट्दै
मेयरसाप डेस्क
|
२०८२ पुष २७ गते १५:२९
जनकपुर । सिरहा र धनुषा जिल्लालाई जोड्ने हुलाकी राजमार्गअन्तर्गतको कमला नदीमाथिको पुल निर्माण कार्यले लामो समयपछि गति लिएको छ । विगत १४ वर्षदेखि अलपत्र अवस्थामा रहेको यो पुल आगामी असार मसान्तभित्रै सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्यका साथ हाल पुनःनिर्माण कार्य तीव्र पारिएको हो ।
पप्पु लुम्बिनी जेभीले ठेक्का पाएको यस आयोजनामा पप्पु कन्स्ट्रक्सन कालोसूचीमा परेपछि अहिले लुम्बिनी बिल्डर्सले मात्रै काम अगाडि बढाइरहेको छ । साइट इन्चार्ज सुदीप थापाका अनुसार, हाल दैनिक ५० जनासम्म कामदार खटाएर संरचना मर्मत र फिनिसिङको काम भइरहेको छ । हालसम्म ४० प्रतिशत काम सकिएको र बाँकी ६० प्रतिशत काम तोकिएकै समयमा सम्पन्न हुने दाबी प्राविधिक टोलीले गरेको छ ।
पुल सञ्चालनमा नआउँदा सिरहा र धनुषाका स्थानीयले राजमार्ग हुँदै झण्डै ६० किलोमिटर घुमाउरो र जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ । स्थानीय श्याम सुन्दर सिंहका अनुसार, पुल बनेपछि यो दूरी छोटिने र करिब डेढ घण्टाको समय बचत हुनेछ ।
मधेश प्रदेशको आर्थिक र सामाजिक विकासका लागि मेरुदण्ड मानिएको यस पुलको पछिल्लो समय सरकार र सडक विभागले समेत निरन्तर अनुगमन र निर्देशन दिँदै आएका छन् । पुल तयार भएपछि सिरहा, धनुषा र सप्तरीबीचको आवागमन सहज हुनुका साथै स्थानीय व्यापार र व्यवसायमा समेत उल्लेख्य सुधार आउने अपेक्षा गरिएको छ ।
Facebook Comments