माघ ६ गते र्‍यालीसहित झापा–५ बाट उम्मेदवारी दर्ता गर्ने बालेनको तयारी

दमकमा निर्वाचन कार्यालयका लागि घर खोजी सुरू

User Image मेयरसाप डेस्क | २०८२ पुष २८ गते २०:४३
Image of https://mayorsap.com/storage/photos/shares/balen1.jpg

काठमाडौं ।  काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह आगामी प्रतिनिधिसभा निर्वाचनमा झापा–५ बाट उम्मेदवार बन्ने तयारीमा छन्। पछिल्ला गतिविधि र आन्तरिक छलफलका आधारमा उनको उम्मेदवारी झापा–५ बाट हुने लगभग निश्चित भएको छ।

मेयर शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) झापाका नेताहरूलाई काठमाडौँ बोलाएर झापाबाट उम्मेदवारी दिने विषयमा स्पष्ट धारणा राखेका छन्। रास्वपा झापाका सचिव शम्भु ढकालका अनुसार, बालेनले झापा–५ को राजनीतिक अवस्था, संगठनको स्थिति तथा चुनावी सम्भावनाबारे विस्तृत जानकारी लिएका छन्।

रास्वपा झापाका नेताहरूका अनुसार छलफल झापा–५ मा चुनावी रणनीति, संगठनात्मक सबल–दुर्बल पक्ष, विपक्षी दलको स्थिति र प्रतिस्पर्धीकाे विषयमा छलफल भएकाे छ। स्राेतका अनुसार चुनावी अभियान सञ्चालन गर्न रास्वपाले झापामा भाडाका लागि घरकाे खाेजी गरिरहेकाे छ । झापा–५ हालसम्म नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले जित्दै आएको क्षेत्र हो।

झापाबाट आएका रास्वपाका पदाधिकारीसँग गएकाे आइतबार काठमाडौँमा करिब डेढ घण्टा लामो छलफल भएको थियाे । स्रोतका अनुसार बालेनले आफ्नै सचिवालयमार्फत झापाको राजनीतिक अवस्था पहिलेदेखि अध्ययन गरिरहेकाे र थप स्पष्टताका लागि रास्वपा झापाका नेताहरूलाई बोलाएका थिए ।

सचिवालयको रिपोर्ट र पार्टी पदाधिकारीहरूसँगको छलफलपछि बालेन झापा–५ बाटै चुनाव लड्ने निष्कर्षमा पुगेको रास्वपा नेताहरूले बताएका छन्। बैठकले माघ ६ गते झापामा र्‍यालीसहित उम्मेदवारी दर्ता गर्ने तयारी गर्ने निर्णयसमेत गरेको छ।

यसअघि माघ ४ गते काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर बालेन रास्वपाको केन्द्रीय पार्टी कार्यालय जाने कार्यक्रम रहेको छ। माघ ५ गते जनकपुरमा रास्वपाका सभापति रवि लामिछाने र बालेन शाह पहिलोपटक संयुक्त रूपमा सार्वजनिक हुने र चुनावी सभालाई सम्बोधन गर्ने तयरी छ।

जनकपुर धनुषा निर्वाचन क्षेत्र नं. ३ मा पर्छ, जहाँबाट रास्वपाका प्रवक्ता मनिष झा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार सिफारिस भएका छन्।

अभियान अन्य जिल्लामा पनि

बालेन झापा–५ बाट उम्मेदवार भए पनि उनको राजनीतिक गतिविधि झापामै सीमित नरहने बताइएको छ। रास्वपाले कोशी प्रदेशभर बालेनको उपस्थितिलाई उपयोग गर्ने रणनीति बनाएको छ।

झापा, मोरङ, सुनसरी, इलामलगायत जिल्लामा कार्यक्रम र जनसम्पर्क विस्तार गर्ने तयारी भइरहेको स्रोतले जनाएको छ। रास्वपाको वरिष्ठ नेतामा मनोनीत भए पनि हालसम्म संसदीय दलको नेताको रूपमा शपथ नलिएका बालेनले शपथपछि सशक्त चुनावी अभियान सुरू गर्ने दाबी पार्टी नेताहरूको छ।

माघ ४ गते पदबाट राजीनामा दिएलगत्तै दलको शपथ लिएर माघ ६ गते उम्मेदवारी दर्ता गर्न झापा आउने सन्देश पार्टी नेतृत्वबाट प्राप्त भएको रास्वपा झापाका नेताहरूले बताएका छन्। बालेन उम्मेदवारका रूपमा झापा आउने निश्चित भएपछि स्थानीय रास्वपा कार्यकर्ता उत्साहित देखिएका छन्।


Facebook Comments