ठानागाउँमा घर-घरै पुग्यो खानेपानी, घण्टौँ हिँड्नुपर्ने बाध्यता हट्यो

‘एक घर एक धारा’ विस्तार

User Image मेयरसाप डेस्क | २०८२ पुष २९ गते ११:४०
Image of https://mayorsap.com/storage/photos/shares/photo-2_2.jpg

पर्वत । मोदी गाउँपालिका–६ तिलाहारको ठानागाउँमा ‘एक घर एक धारा’ निर्माण गरिएको छ । सो गाउँमा खानेपानीको चरम अभाव रहँदै आएको थियो ।  बस्तीभन्दा करिव एक घण्टा तल रहेका रतीखोला र मोदीखोलाबाट पानी ल्याउनु पर्दथ्यो ।  ठानागाउँमा सञ्चालित ठाना खानेपानी तथा सरसफाइ परियोजनाबाट धारा निर्माण गरिएको हो ।  यहाँ ८२ घरपरिवार छन् । 

नेपाल रेडक्रस सोसाइटी कास्कीको व्यवस्थापनमा युनिका फाउन्डेसन दी नेदरल्यान्डको आर्थिक सहयोग र स्थानीय मोदी गाउँपालिकाको साझेदारी तथा लाभग्राहीहरुको श्रमदानमा आयोजना सम्पन्न भएको हो । 

युनिका फाउन्डेसन दी नेदरल्यान्डको रु ८३ लाख ३४ हजार ७२०, मोदी गाउँपालिकाको रु २४ लाख ९६ हजार १२९, समुदायको रु २७ लाख ७८ हजार ७७३ बराबरको श्रमदान गरी रु एक करोड ३६ लाख १० हजार ६२२ को लागतमा आयोजना सम्पन्न भएको ठाना खानेपानी तथा सरसफाइ परियोजनाका अध्यक्ष कमलबहादुर केसीले जानकारी दिए । 

उक्त आयोजनाबाट ७८ व्यक्तिगत धारा र चारवटा सामुदायिक धारा जडान गरिएको छ । आयोजनाबाट प्रतिदिन ३८ हजार ७८९ लिटर पानी आपूर्ति गर्न सकिने भएको छ । बस्तीभन्दा माथि साढे दुई किलोमिटर दूरीमा रहेको कमल स्वारामा रहेको मुहानबाट जिआई र प्लास्टिक पाइप गरी एक फिल्टर र एक वितरण ट्याङ्कीमार्फत घरघरमा पानी वितरण गरिएको छ ।

खानेपानी अभावका कारण स्थानीयवासीहरुको बसाइँसराइ बढ्दै गएको र गाउँमा बस्नेहरुले पनि सास्ती खेप्नु परेको खबर पाएपछि खानेपानी आयोजना सञ्चालन गर्नका लागि आर्थिक सहयोग गरिएको युनिका फाउन्डेसन दी नेदरल्यान्डका कार्यकारी प्रमुख रमेशराज पौडेलले बताए ।

उनले आयोजना सञ्चालनमा आउनु मात्र ठूलो कुरा नभई यसलाई दिगो रुपमा सञ्चालन गर्नु महत्वपूर्ण हुने बताए । यसका लागि नियमित मर्मतसम्भार कोष खडा गर्नसमेत उनले आग्रह गरे । 

खानेपानी आयोजना सञ्चालनमा आए पनि ठानागाउँ र आसपासका बस्तीका गरी झन्डै ५०० जनसङ्ख्या लाभान्वित भएको स्थानीय नन्दलाल सुवेदीले जानकारी दिए । ठानाबासीको वर्षौं देखिएको सपना पूरा भएको बताउँदै सुवेदीले यसबाट स्थानीयले पानी पिउन मात्र नभएर आयआर्जनका लागि कृषि पेसा गर्नसक्ने पनि बताए । 

गण्डकी प्रदेशसभा सदस्य भक्त कुँवरले आफ्नो निर्वाचन क्षेत्रमा खानेपानी, विद्युत्, सडक, सिँचाइ जस्ता आयोजना निर्माणका लागि आफू निरन्तर सक्रिय रहँदै आएको बताए । 

कार्यक्रममा मोदी गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्मा, उपाध्यक्ष बिमल लामिछाने, सहयोगी संस्था युनिका फाउन्डेशन दी नेदरल्यान्ड, नेपाल रेडक्रस सोसाइटी कास्कीका पदाधिकारी तथा स्थानीय उपभोक्ताहरुले आयोजनाको निरन्तरताका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।


Facebook Comments