बागमतीका निलम्बित मेयर थापाको मुद्दामा सुनुवाइ हुँदै
५६ करोड भ्रष्टाचार प्रकरण
मेयरसाप डेस्क
|
२०८२ पुष २९ गते १२:२७
काठमाडौं । सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापाविरुद्धको बहुचर्चित भ्रष्टाचार मुद्दामा आज विशेष अदालतमा सुनुवाइ हुँदैछ । न्यायाधीशत्रय नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासमा यो मुद्दाको पेसी तोकिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८२ जेठ ४ गते मेयर थापा, उपमेयर लीलाकुमारी मोक्तान र पूर्वमन्त्री विजयकुमार सहितलाई विपक्षी बनाउँदै ५६ करोड ७१ लाख रुपैयाँ बिगो मागदाबीसहित मुद्दा दायर गरेको थियो ।
बागमती नगरपालिकाको वडा नं. ४ र १२ मा पर्ने सागरनाथ वन विकास परियोजनाको वन क्षेत्र अतिक्रमण गरी माछापोखरी निर्माणका नाममा करोडौँ रकम हिनामिना गरेको उनीहरूमाथि आरोप छ ।
विशेषगरी, माछाविहीन पोखरीका लागि मधेश प्रदेश सरकारबाट पटक–पटक अनुदान लिएको र तत्कालीन आर्थिक मामिला मन्त्री विजयकुमारले आफैँ हस्ताक्षर गरी ३० करोड रुपैयाँ उपलब्ध गराएको अभियोग पत्रमा उल्लेख छ ।
ढुङ्गा, गिट्टी र बालुवा उत्खनन गरी बनाइएको खाल्डोलाई माछापोखरीको स्वरूप दिएर सरकारी कोषको दुरुपयोग गरेको दाबी अख्तियारको छ ।
Facebook Comments