चार अंकले बढ्यो नेप्से, ६ अर्ब ९९ करोडकाे कारोबार

User Image मेयरसाप डेस्क | २०८२ पुष २९ गते १६:१६
Image of https://mayorsap.com/storage/photos/shares/nepsenepse.jpg

काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सुधार देखिएको छ । अघिल्लो दिन सामान्य गिरावट आएको बजार आज ४.९० अंकले बढ्दै २६३९.९१ विन्दुमा उक्लिएर बन्द भएको हो ।

नेप्से बढेसँगै आज कारोबार रकममा पनि उत्साहजनक वृद्धि देखिएको छ । सोमबार ६ अर्ब ४७ करोडको कारोबार भएकोमा मंगलबार ३४९ कम्पनीको १ करोड ३६ लाख कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब ९९ करोड ४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज सेन्सेटिभ, फ्लोट र सेन्सेटिभ फ्लोट सबै सूचकहरू सकारात्मक रहे ।

मंगलबारको बजारमा जलविद्युत क्षेत्रको वर्चस्व देखियो । थ्रिस्टार हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दै प्रतिकित्ता ८३१.६० रुपैयाँ पुगेको छ । त्यस्तै, दोर्दी खोला र सुपर मादी हाइड्रोपावरको सेयर मूल्यमा पनि ९ प्रतिशतभन्दा बढीको वृद्धि देखियो । यता, रसुवागढी हाइड्रोपावरका लगानीकर्ताले भने करिब ६ प्रतिशत गुमाएका छन् ।

कारोबार भएका १३ उपसमूहमध्ये ७ वटामा हरियाली छाएको छ । जलविद्युत उपसमूह सर्वाधिक १.०२ प्रतिशतले बढ्दा व्यापार र अन्य उपसमूहमा पनि सुधार देखिएको छ । आज राधी विद्युत, एसवाई प्यानल र बुटवल पावर कम्पनी कारोबार रकमका आधारमा अग्रस्थानमा रहे ।


Facebook Comments