देश बचाउन र बनाउन राप्रपा बाहेक विकल्प छैन : अध्यक्ष लिङ्देन
मेयरसाप डेस्क
|
२०८२ पुष २९ गते १८:०८
काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पुर्खाले नासोका रूपमा छोडेको यो देशलाई समृद्ध बनाएर मात्र भावी पुस्तालाई हस्तान्तरण गर्नुपर्ने बताएका छन् ।
मंगलबार पार्टी एकीकरण कार्यक्रममा बोल्दै उनले देश अहिले सामान्य अवस्थामा नरहेको उल्लेख गर्दै देशभक्त शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिए ।
अध्यक्ष लिङ्देनले २०६२–६३ को परिवर्तनपछि राप्रपाले उठाउँदै आएको राजसंस्था र हिन्दूराष्ट्रको मुद्दा अहिले जनस्तरमा सबैभन्दा लोकप्रिय बनेको दाबी गरे । ‘म अध्यक्ष रहेकै कार्यकालमा राजतन्त्र र हिन्दूराष्ट्र पुनःस्थापना भएको हेर्न चाहन्छु,’ उनले भने ।
संघीयताको खारेजी र अभिभावकीय भूमिकामा राजसंस्था हुनुपर्ने मान्यता राख्ने सबै शक्तिहरूलाई एकै ठाउँमा आउन आह्वान गर्दै उनले देश बचाउने एक मात्र माध्यम राप्रपाको मार्गचित्र भएको बताए ।
आगामी निर्वाचनमा राप्रपालाई देशको सबैभन्दा ठूलो दल बनाउने सङ्कल्पका साथ अघि बढ्न उनले कार्यकर्तालाई निर्देशन दिए ।
Facebook Comments