सिन्धुली एसबीआई बैंक लुटपाट : गाडीसहित एक जना नियन्त्रणमा

User Image मेयरसाप डेस्क | २०८२ पुष २९ गते २२:४०
Image of https://mayorsap.com/storage/photos/shares/sindhuli-sbi-bank-loot.png

काठमाडौं । सिन्धुलीको घ्याङ्लेख गाउँपालिका–२ मा रहेको एसबीआई बैंक लुटपाटमा संलग्न एक जना व्यक्ति गाडिसहित पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका अनुसार साँझ ७ बजेतिर बैंकमा लुटपाट भएको थियो । लुटपाटपछि अहिले प्रहरी सक्रिय भएको र अनुसन्धान प्रक्रिया अघि बढेको जिल्ला प्रहरी कार्यालयका एसपी लालध्वज सुवेदीले जानकारी दिए । 'म अहिले कार्यालयमा एक्लै छु । टिम परिचालन भइसकेकाे छ । एक गाडी भेटिएकाे छ', सुवेदीले मेयरसाप डटकमसँग भने ।

उनका अनुसार, बैंक लुटपाटमा संलग्नहरू चढेर गएको गाडी र त्यसका चालकलाई नियन्त्रणमा लिएको हो । उक्त गाडीमा नकाबधारीहरू बिहेमा जाने भन्दै चढेको र अन्य कुरा थाहा नभएको ती चालकले बताएका छन् । यद्यपि थप सोधखोज चलिरहेको प्रहरीले जनाएको छ ।

स्थानीयका अनुसार भने नकाबधारीहरू छिरेर त्यहाँ रहेका सेक्युरिटी गार्डलाई हिर्काएर कर्मचारी नियन्त्रण लिएर पैसा लुटेर भागेका थिए ।

उनीहरूको थप खोजी भइरहेको प्रहरीले जनाएको छ ।


Facebook Comments