स्वजागरणले अधिकारसँगै कर्तव्यको बोध गराउँछ : प्रधानमन्त्री कार्की
मेयरसाप डेस्क
|
२०८२ पुष ३० गते १२:४६
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा सुशासन स्थापना गर्न र समृद्ध समाज निर्माणका लागि नागरिकमा सेवाभाव र सदाचारिता आवश्यक रहेको बताएकी छिन् ।
बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित ‘सुशासन र समृद्धिका लागि स्वजागरण’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो विचार व्यक्त गरेकी हुन् ।
प्रधानमन्त्री कार्कीले स्वजागरण अभियानले नैतिकता र अनुशासनयुक्त जनशक्ति तयार पार्ने विश्वास व्यक्त गरिन् । ‘स्वजागरण केवल आध्यात्मिक अभ्यास मात्र होइन, यो व्यक्तिलाई आन्तरिक रूपमा शान्त र बाह्य रूपमा जिम्मेवार बनाउने जीवन पद्धति हो,’ उनले भनिन् ।
वर्तमान समयमा जेन–जी पुस्ताले उठाएको सुशासन र सदाचारको मागलाई सम्बोधन गर्न अब स्वजागरणलाई दैनिक जीवनको हिस्सा बनाउनु अनिवार्य रहेको प्रधानमन्त्री कार्कीको भनाइ छ ।
कार्यक्रममा जीवन विज्ञानका संस्थापक एलपी भानु शर्माले स्वजागरण र यसको प्रयोगात्मक पक्षबारे प्रवचन दिएका थिए । प्रधानमन्त्रीले थपिन्, ‘स्वजागृत व्यक्तिले केवल अधिकार मात्र खोज्दैन, उसले आफ्नो कर्तव्यका बारेमा पनि आत्मचिन्तन गर्छ ।’
उक्त कार्यक्रममा मन्त्रीगण, प्रधान सेनापतिसहित सुरक्षा निकायका प्रमुखहरू, मुख्य सचिव, विभिन्न मन्त्रालयका सचिवहरू र निजी क्षेत्रका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
Facebook Comments