साकेला गाउँपालिकामा चल्दैछ 'श्रम साकेला अभियान'

श्रमदानबाट बदलिँदै गाउँको स्वरूप

User Image मेयरसाप डेस्क | २०८२ पुष ३० गते १३:१८
Image of https://mayorsap.com/storage/photos/shares/sakela-gaupalika.jpg

खोटाङ । खोटाङको साकेला गाउँपालिकामा पछिल्लो समय विकासका बहुआयामिक कार्यहरूले तीव्रता पाएका छन् । विकासलाई भौतिक पूर्वाधारमा मात्र सीमित नराखी संस्कृति, पहिचान र श्रमदानसँग जोडेर साकेलालाई आकर्षक पर्यटकीय गन्तव्यका रूपमा रूपान्तरण गरिँदैछ ।

पालिकाको मुख्य प्रवेशद्वार साप्सुखोला क्षेत्रमा निर्मित स्काइवाक, अत्याधुनिक बसस्टप र स्थानीय कला–संस्कृति झल्किने चित्रकलाले आगन्तुकलाई फरक अनुभूति दिलाउन थालेको छ ।

पालिकाले आफ्नै स्रोत–साधनको प्रयोग गरी काठका होर्डिङ बोर्ड र टोलटोलमा दिशा–निर्देशक चिह्न (डाइरेक्सन एरो) राखेर नवीनता देखाएको छ । यसले गर्दा नयाँ मानिसले पनि कसैलाई नसोधी सिङ्गो पालिका एक्लै घुम्न सक्ने वातावरण बनेको छ ।

यस विकासको मुख्य इन्जिनका रूपमा गाउँपालिका प्रमुख रविप्रकाश राई स्वयं सक्रिय छन् । ‘श्रम साकेला अभियान’ अन्तर्गत अध्यक्ष राई नियमित रूपमा कर्मचारी र स्थानीयसँगै सडक सफा गर्ने र भौतिक निर्माणमा श्रमदान गर्ने काममा सहभागी हुँदै आएका छन् । नेतृत्व आफैँ मैदानमा उत्रिएपछि स्थानीयमा पनि नयाँ ऊर्जा थपिएको छ ।

‘हामीले जनजीविकाका कामसँगै पर्यटकीय गन्तव्यको स्तरोन्नतिलाई प्राथमिकता दिएका छौँ,’ अध्यक्ष राईले भन, ‘साकेला आफैँमा पर्यटकीय केन्द्र हो। यहाँको प्रवद्र्धनले रोजगारी सिर्जना हुनुका साथै पालिकाको आन्तरिक आय पनि बढ्नेछ ।’

पालिकाले हालसम्म वडा नं. २ रतन्छामा साकेला पार्क र वडा नं. ३ खिदिमामा सहिद पार्क निर्माण गरिसकेको छ भने प्रसिद्ध तावाताल निर्माणको काम अघि बढाएको छ । उपप्रमुख बिर्सिका राईका अनुसार, गाउँपालिकालाई जिल्लाकै अग्रपङ्तिमा पुर्याउन पर्यटकीय क्षेत्रको विकासलाई तीव्रता दिइएको छ ।


Facebook Comments