सुर्खेतमा १५ शय्याको प्रहरी अस्पताल सञ्चालन
मेयरसाप डेस्क
|
२०८२ पुष ३० गते १७:५०
सुर्खेत । कर्णाली प्रदेश प्रहरी कार्यालयले वीरेन्द्रनगरमा आफ्नै १५ शय्याको सुविधासम्पन्न अस्पताल सञ्चालनमा ल्याएको छ । बुधबार आयोजित एक विशेष समारोहका बीच मुख्यमन्त्री यामलाल कँडेलले अस्पतालको उद्घाटन गरेका हुन् ।
प्रदेश प्रहरी प्रमुख डीआईजी माधव श्रेष्ठका अनुसार यस अस्पतालबाट प्रहरी कर्मचारी र उनीहरूका परिवारका साथै आम सर्वसाधारणले पनि सहज रूपमा उपचार सेवा पाउनेछन् ।
अस्पतालमा ओपीडी, ल्याब, फार्मेसी, अन्तरङ्ग विभाग र माइनर अप्रेसन जस्ता आधारभूत स्वास्थ्य सेवाहरू उपलब्ध हुनेछन् । उद्घाटनका क्रममा मुख्यमन्त्री कँडेलले बढ्दो जनघनत्व र स्वास्थ्य चुनौतीलाई मध्यनजर गर्दै प्रहरीले स्वास्थ्य क्षेत्रमा हात हाल्नु सराहनीय रहेको बताए ।
त्यस्तै, सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले संकटको सारथी मानिने नेपाल प्रहरीले अब नागरिकको स्वास्थ्य उपचारमा पनि सक्रियता देखाएकोमा खुसी व्यक्त गरे । यो अस्पतालले कर्णालीका १० वटै जिल्लाका बहालवाला, अवकाशप्राप्त र अमर प्रहरीका परिवारलाई समेत राहत दिने विश्वास गरिएको छ ।
Facebook Comments