सुमन सायमीलाई पार्टीमा भित्र्याएपछि हाैसिए प्रचण्ड, भने-सुकुम्बासीका समस्या समाधान हुन्छ
मेयरसाप डेस्क
|
२०८२ पुष ३० गते २१:०९
काठमाडौँ- नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपाल (एकता पक्षधर) बीच आज औपचारिक रूपमा पार्टी समायोजन भएको छ ।
सहमतिपत्रमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल, सहसंयोजक माधवकुमार नेपाल तथा राष्ट्रिय मुक्ति पार्टी नेपाल (एकता पक्षधर) का वरिष्ठ उपाध्यक्ष सुमन सायमीले हस्ताक्षर गरेका छन् ।
सुमन सायमी पार्टीमा भित्र्याएपछि हाैसिएका संयोजक पुष्पकमल दाहालले काठमाडौँ उपत्यकाका नागरिकका समस्या समाधानमा ठूलो योगदान पुग्ने विश्वास व्यक्त गरे ।
उनले काठमाडौँमा सुकुम्बासी, खोला किनारका पीडित, अव्यवस्थित बसोबास तथा सामाजिक–आर्थिक समस्याबाट ग्रसित नागरिकका पक्षमा सङ्घर्ष गर्दै आएका नेताहरू पार्टीमा समाहित हुनु सकारात्मक बताए ।
“काठमाडौँका सुकुम्बासी, खोला किनाराका पीडितलगायत थुप्रै नागरिकका समस्या समाधानका लागि अग्रसर रहेका नेताहरू र हाम्रो पार्टीबीच समायोजन भएको छ', प्रचण्डले भने, 'अब हामी सङ्गठित रूपमा यहाँका नागरिकका समस्या समाधान गर्न सक्षम हुनेछौँ ।”
पार्टीका सहसंयोजक नेपालले पार्टीलाई जनताको आशा र भरोसाको केन्द्रका रूपमा स्थापित गर्नु अहिलेको प्रमुख चुनौती भएको बताए ।
त्यसैगरी, राष्ट्रिय मुक्ति पार्टी नेपाल (एकता पक्षधर) का वरिष्ठ उपाध्यक्ष सुमन सायमीले विचार, सिद्धान्त र जनताको दीर्घकालीन हितलाई केन्द्रमा राखेर नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेको बताए । उनले भावनात्मक निर्णय, भीडको दबाब वा क्षणिक स्टन्टभन्दा माथि उठेर आफूहरूले राजनीतिक निर्णय गरेको स्पष्ट पारे ।
कार्यक्रममा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, नेता वामदेव गौतम, राजेन्द्र श्रेष्ठलगायत राजनीतिक दलका नेता, सामाजिक अभियन्ता तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
Facebook Comments