ऐतिहासिक महत्व बोकेको बाजुराको धार्मिक आस्थाको धरोहर पादुका त्रिवेणीधाम
गोविन्द तिमिल्सेना
|
२०८२ माघ १ गते ०९:४२
बाजुरा । देशकै दुर्गम तथा मानव विकास सूचकांकको पुछारमा रहेको जिल्ला हो, बाजुरा । हरेक सेवा सुविधाबाट प्रताडित बाजुरा धार्मिक तथा प्राकृतिक पर्यटकीय क्षेत्रमा निकै धनी छ । धार्मिक तथा पर्यटकीय स्थल बडीमालिकादेखि नाटेश्वरी यहीँ छन्। त्यस्तै अन्य सम्भावना भएका थुप्रै धार्मिक स्थलहरू पनि यहाँ अनगिन्ती छन्। धार्मिक हिसाबले बाजुरा झनै प्रख्यात छ।
बाजुराका ९ वटै स्थानीय तहका अधिकांश स्थानमा विभिन्न धार्मिक आस्थाका धरोहर छन्। जसले एक ऐतिहासिक महत्व बोकेका छन्। त्यस्तै एक ऐतिहासिक महत्व बोकेको धार्मिक आस्थाको धरोहरको रुपमा श्री मानासरोवर कैलाशद्वार पादुका त्रिवेणी धामलाई लिन सकिन्छ।
पादुका त्रिवेणी धाम बाजुराको बुढीनन्दा नगरपालिका वडा नम्बर १ मा रहेको धार्मिक आस्थाको धरोहर हो। जहाँ वर्षेनी धार्मिक कार्य, पूजापाठ, विवाह, ब्रतबन्ध लगायतका कामहरु हुने गर्छन्।
बाजुराको हिमाली गाउँपालिका, छिमेकी जिल्ला हुम्ला, मुगु लगायत अन्य जिल्लामा जाने सडकखण्ड तथा रारा पर्यटन मार्ग अन्तरर्गत कर्णाली नदीसँगै जोडिएको प्रसिद्ध धार्मिक स्थल पादुका त्रिवेणी धामको छुट्टै ऐतिहासिक महत्त्व छ। सतिदेविको पाउ पतनसँगै प्राचीन कालमा पाण्डवले बनाएको मन्दिर यहाँ छ।
बुढीनन्दा, बडीमालिका र शिम्बुनाथको अन्तर स्तुपा भएको ठाउँ, मानासरोवर बडीमालिका, बुढीनन्दाबाट आउने तीन वटा नदीको पनि संगम स्थल भएकोले यसलाई पादुका त्रिवेणी धाम भनिएको हो। पादुका त्रिवेणीधाम सतिदेविको पाउ पतन भएपछि यसको उद्गम भएको हो।
पादुका तीन नदीको संगम भएको ठाउँ, अन्य धार्मिक स्थलका अन्तर स्तुपा भएको हुनाले यसलाई चिनिने गरिएको छ। यिनै ऐतिहासिक महत्त्वका कारण पादुका त्रिवेणी धाम चिनिएको छ। यसको ऐतिहासिक रूपमा ५ हजार १ सय ४० वर्ष पुरानो मन्दिर मानिन्छ।
बाजुराको १ नगरपालिका र ३ गाउँपालिकाको भूगोलका हिसाबले बीच केन्द्रमा रहेको धार्मिक आस्थाको धरोहरका रुपमा यसलाई लिन सकिन्छ। पादुका धाम सुदूरपश्चिम प्रदेशकै एक धार्मिक महत्व बोकेको ऐतिहासिक स्थल हो।
पादुका शिवजीको शिवलिङ्ग स्थापना, सतिदेखीको पाउ प्रदान भएको ठाउँ हो। यहाँ राधाकृष्ण मन्दिर र शिव मन्दिर,पशुपति र गणेशको मन्दिर रहेका छन्। १ सय ८ वटा शिव लिङ्ग संगै नौ दुर्गा देवीको मन्दिर समेत रहेको छ। नौ ग्रहको पूजा समेत यहाँ हुने गरेको छ। पादुका धार्मिक तथा पवित्र धाम भएकोले यसको अझै संरक्षण तथा सम्बर्द्धन गर्न आवश्यक देखिन्छ।
मानासरोवर कैलाशद्वार पादुका त्रिबेणी धाममा स्नान गरे मानवसरोवरसम्म पुग्नै नपर्ने मान्यता रहेको पादुका त्रिवेणी धामका पुजारी मष्टीप्रशाद उपाध्यायले बताए । उनका अनुसार पादुका पवित्र स्थल भएकोले मानसरोवर जान नसक्ने दर्शनार्थीहरुले पादुकामै दर्शन गरी स्नान गरेको खण्डमा मनोकांक्षा पूरा हुने बताए ।
पादुुका सति देविको पाउ पतन तथा मानासरोवर बडीमालिका,बुढिनन्दाबाट आउँने तीन वटा नदीको संगम स्थल भएकोले यहाँ आएर दर्शन गरेमा फल प्राप्त हुने बताए । मानसरोवरको मुहानबाट आउने पानीको केही अंश पादुका कुण्डमा निस्कने भएकाले यसको महत्त्व बढिरहेको उनको भनाई छ।
आफू करिब २१ बर्षदेखि पादुुकाधाममै रहेर धार्मिक कार्य गर्दै आएको बताउँदै पुजारी उपाध्यायले हरेक समय विभिन्न पूजापाठ,लगायत विभिन्न पर्वहरुमा मेला समेत लाग्ने गरेको जानकारी दिए। पवित्र धार्मिक स्थल पादुका त्रिवेणी धामको अझै प्रचार९प्रसार गर्न सकेको खण्डमा विश्वका चर्चित धार्मिक स्थल जस्तैः बन्न सक्ने बताए ।
बाजुराका धार्मिक स्थलमध्येको एक महत्त्वपूर्ण धार्मिक स्थल पादुका त्रिवेणी धाम बाजुराका दर्जनौं धार्मिक एवं पर्यटकीय स्थल भन्दा बढी महत्त्व बोकेको पादुका कुण्ड क्षेत्रको रुपमा परिचित छ। पछिल्लो समय पादुका त्रिवेणी धाम अझै संरक्षणको पर्खाइमा छ। विभिन्न सहयोगीदाता तथा निकायको सहयोगमा विभिन्न स्तुपा निर्माण गरिएका छन्।
यहाँका स्थानीय तहले अझै पादुकाको संरक्षणमा सहयोग पुर्याएको खण्डमा पादुका क्षेत्र गतिशील रुपमा अघि बढ्ने र पर्यटकहरुलाई समेत आकर्षक गर्ने धार्मिक गन्तव्यको रुपमा विकास हुने सम्भावना छ। यहाँको बुढीनन्दा,जगन्नाथ हिमाली र स्वामिकार्तिक गाउपालिकाले पादुकाको विकासमा सहयोग तथा सहकार्य गरेको खण्डमा पादुका विकासका हिसाबमा समेत फड्को मार्ने देखिन्छ। पादुका धामको विकास र बिस्तरामा यहाँका स्थानीय सरकार, जनप्रतिनिधि, स्थानीयले महत्त्वपूर्ण भुमिका खेल्न आवश्यक छ।
Facebook Comments