बैंक कर्मचारीलाई कुटपिट गर्ने उपमेयर फरार, श्रीमान् धरौटीमा रिहा

बैंक कर्मचारी कुटपिट प्रकरण

User Image मेयरसाप डेस्क | २०८२ माघ १ गते ११:१०
Image of https://mayorsap.com/storage/photos/shares/saptakoshi-nagarpalika.jpg

राजविराज । ज्योति विकास बैंकका दुई कर्मचारीमाथि अमानवीय व्यवहार र कुटपिट गरेको आरोप लागेकी सप्तकोशी नगरपालिकाकी उपप्रमुख रिताकुमारी चौधरीसहितका मुख्य आरोपीहरू अझै पक्राउ परेका छैनन् ।

गत मंसिर २४ गते ऋण असुलीका सिलसिलामा बैंकको प्रादेशिक कार्यालयका उपप्रबन्धक सुमित श्रेष्ठ र अधिकृत सविन श्रेष्ठ सप्तकोशी इन्टिग्रेटेड एग्रो फार्ममा पुगेका थिए । सो क्रममा उपप्रमुख चौधरी, उनका छोरा र अन्य सेयरधनीहरू मिलेर कर्मचारीलाई मोसो दल्ने, जुत्ताको माला लगाइदिने र कुटपिट गर्ने जस्तो निकृष्ट व्यवहार गरेका थिए ।

घटनाको भिडियो सार्वजनिक भएपछि प्रहरीले उपप्रमुखका श्रीमान् सञ्जीवकुमार चौधरी र उमाकान्त चौधरीलाई पक्राउ गरेको थियो । यद्यपि, उनीहरू दुवै जना गत शुक्रबार जिल्ला अदालतको आदेशमा जनही २५ हजार रुपैयाँ धरौटी बुझाएर रिहा भइसकेका छन् ।

इलाका प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी माधवप्रसाद काफ्लेका अनुसार, उपप्रमुख रिताकुमारी चौधरी, उनका छोरा सिरजकुमार, तथा सेयरधनीहरू प्रभुनारायण र पञ्चदेव चौधरी अझै फरार छन् । प्रहरीले उनीहरूको खोजी कार्य तीव्र पारिएको दाबी गरेको छ ।


Facebook Comments