कार्मारोङका रैथाने बाली अब सरकारी कम्पनीले खरिद गर्ने

बजारीकरणका लागि सम्झौता

User Image मेयरसाप डेस्क | २०८२ माघ १ गते १३:१९
Image of https://mayorsap.com/storage/photos/shares/photo-1_13.jpg

मुगु । मुगुको चीनसँग सिमाना जोडिएको मुगुम कार्मारोङ गाउँपालिकामा उत्पादित स्थानीय रैथाने बालीलाई सरकारी तवरबाटै खरिद गरी बजारीकरण गर्ने सहमति भएको छ ।

गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामा र खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यबीच यससम्बन्धी पाँच वर्षे सम्झौतामा हस्ताक्षर भएको छ ।

सम्झौता अनुसार, पालिकामा उत्पादन हुने चिनो, कागुनु, भटमास, कोदो, फापर, सिमी, नाफल र उवा जस्ता अन्नबाली गाउँपालिकाले कृषकबाट खरिद गर्नेछ र त्यसलाई व्यापार कम्पनीले बजारीकरण गर्नेछ । यसका लागि गाउँपालिकाले आगामी बजेट अधिवेशनबाट १५ लाख रुपैयाँ विनियोजन गर्ने तयारी गरेको छ ।

सम्झौताको मुख्य उद्देश्य स्थानीय स्तरमा खाद्यान्नको सहज आपूर्ति सुनिश्चित गर्नुका साथै दुर्गमका कृषकको उत्पादनलाई उचित मूल्य र बजार प्रदान गर्नु हो । संकलित बाली कम्तीमा एक ट्रक परिमाण पुगेपछि कम्पनीले खरिद गरी आन्तरिक तथा बाह्य बजारमा पठाउनेछ ।

यसका लागि वडा नम्बर ९ मा रहेको कोसेली घरलाई भण्डारण केन्द्रका रूपमा प्रयोग गरिने र पालिकाले कम्तीमा तीन महिनालाई पुग्ने खाद्यान्न मौज्दात राख्न सक्ने गोदामको व्यवस्था गर्ने सहमति भएको छ ।

आफ्नै गाउँमा उत्पादनले बजार पाउने भएपछि स्थानीय कृषकहरू उत्साहित भएका छन्, भने जनप्रतिनिधिहरूले आगामी दिनमा स्याउ, चोती र कोइरा जस्ता फलफूललाई पनि कम्पनीसँगको सहकार्यमा समेट्नुपर्नेमा जोड दिएका छन् ।


Facebook Comments