प्रतिनिधिसभा निर्वाचनः काभ्रेपलाञ्चोकमा तयारी तीव्र, धमाधम कार्यालय स्थापना
मेयरसाप डेस्क
|
२०८२ माघ २ गते १९:०२
काभ्रेपलाञ्चोक । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लामा तयारी तीव्र पारिएको छ । जिल्लामा निर्वाचन सम्पन्न गर्न जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपाने मुख्य निर्वाचन अधिकृतसहित निर्वाचन क्षेत्र नं २ का निर्वाचन अधिकृत तोकिएको छ । जिल्ला न्यायाधिवक्ता टीकाभूषण घिमिरेलाई निर्वाचन क्षेत्र नं १ का लागि निर्वाचन अधिकृत नियुक्त गरिएको छ ।
जिल्लास्थित दुईवटा निर्वाचन क्षेत्रमा शुक्रबार कार्यालय स्थापनासमेत गरिएको छ । जिल्लामा निर्वाचनका लागि दुई हजार ४०० कर्मचारी तथा एक हजार २०० स्वयंसेवक खटाइने जनाइएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार दुईवटा निर्वाचन क्षेत्रमध्ये १८९ मतदानस्थल, चार सय मतदान केन्द्रमा मतदान गर्ने तीन लाख २६ हजार ६११ मतदाता छन् ।
जिल्लामा दुई हजार २६९ निर्वाचन प्रहरी खटाइने भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ । काभ्रेपलाञ्चोकमा तीन लाख २६ हजार ६११ मतदाता कायम भएका छन् । यसमध्ये एक लाख ६७ हजार ४९९ पुरुष, एक लाख ५९ हजार ११० महिला, अन्य दुई मतदाता छन् । जिल्ला निर्वाचन अधिकारी दिनेश शिवाकोटीले निर्वाचनका लागि आवश्यक तयारी भइरहेको बताए ।
(((
Facebook Comments