१२ सय मेगावाटको बूढीगण्डकी जलविद्युत आयोजना निर्माणतर्फ अघि बढ्दै

User Image मेयरसाप डेस्क | २०८२ माघ ३ गते १३:०५
Image of https://mayorsap.com/storage/photos/shares/hydro.jpg

काठमाडौं । १२०० मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत आयोजना निर्माणको चरणतर्फ अघि बढेको छ । यस आयोजनाको लगानीको ढाँचामा अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगबीच सहमति भएसँगै निर्माणका लागि प्रक्रिया अघि बढेको हो ।

बूढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना राष्ट्रिय गौरवको आयोजना हो । निर्वतमान उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले समाजिक सञ्जला फेसबुकमा लेख्दै यस सहमतिले दशकौँदेखि प्रतीक्षामा रहेको परियोजनालाई ठोस रूप दिनुका साथै अब मन्त्रिपरिषद्बाट निर्णय हुने चरणमा पु¥याएको बताएका छन् ।

यस आयोजनाको आधारभूत लागत २ अर्ब ७७ करोड अमेरिकी डलर (करिब ३ खर्ब ७४ अर्ब रुपैयाँ) रहेको छ । प्रस्तावित लगानी मोडालिटीअनुसार ७० प्रतिशत कर्जा र ३० प्रतिशत स्वःपूँजी (इक्विटी) बाट पूँजी जुटाइने योजना बनाइएको छ । सरकारको इक्विटी भागबाट ९७ अर्ब ४७ करोड रुपैयाँ र सहुलियतपूर्ण कर्जा मार्फत १ खर्ब ५० अर्ब रुपैयाँ जुटाउने गरी कुल २ खर्ब ४८ अर्ब रुपैयाँ लगानी हुने अपेक्षा छ । यसअघि सरकारले आयोजनामा गरेको ४५ अर्ब रुपैयाँ शेयर लगानीमा रुपान्तरण गरिनेछ ।

घिसिङले भनेका छन, ‘स्वदेशी लगानीमै यति ठूलो आयोजना बनाउन सकिन्छ भन्ने आत्मविश्वाससाथ यो मोडालिटी तयार गरिएको हो । वर्षौंदेखि अन्योल, बहस र प्रतिक्षामा सीमित रहेको बूढीगण्डकी अब निर्माणतर्फ अघि बढ्ने मोडमा आइपुगेको छ । अब ढिलाइ गर्ने छुट छैन, काम थाल्नै पर्छ ।’ उनले थपे,‘यो आयोजना केवल विद्युत उत्पादनका लागि मात्र होइन, देश आत्मनिर्भर बन्ने विश्वासको ठोस आधार पनि हो । मेरो ११५ दिनको कार्यकालमा यो उर्जा क्षेत्रमा भएको एउटा महत्वपूर्ण उपलब्धि हो ।’


Facebook Comments