रविलाई ‘उन्मुक्ति’ दिने निर्णयविरुद्ध सर्वोच्चमा रिट दर्ता

माघ ६ गतेलाई तोकियो पेसी

User Image मेयरसाप डेस्क | २०८२ माघ ४ गते १३:३३
Image of https://mayorsap.com/storage/photos/shares/rabi-lamichhane_1.jpg

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधको मुद्दा फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

युवराज सफल र कानुनका विद्यार्थी आयुष बडालले बुधबार दायर गरेको उक्त रिटको प्रारम्भिक सुनुवाइका लागि अदालतले माघ ६ गतेको पेसी तोकेको छ ।

निवेदकहरूले महान्यायाधिवक्ता कार्यालयले पुस ३० गते गरेको निर्णयलाई ‘बदनियतपूर्ण र स्वेच्छाचारी’ भन्दै उत्प्रेषणको आदेशद्वारा बदर गर्न माग गरेका छन् । 

रिटमा लामिछानेमाथि लागेका सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दाहरूलाई कमजोर नबनाउन र कानुनी प्रक्रियामा अवरोध नगर्न परमादेश समेत माग गरिएको छ ।

मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ३६ विपरीत नयाँ प्रमाण बिना नै अभियोग संशोधन गरी लामिछानेलाई उन्मुक्ति दिन खोजिएको रिटमा जिकिर गरिएको छ । 

काठमाडौं, कास्की र रूपन्देही जिल्ला अदालतमा चलिरहेका मुद्दाहरूमा लामिछानेको हकमा मात्र अभियोग दाबी हटाउने निर्णय गैरकानुनी भएको निवेदकहरूको ठहर छ ।


Facebook Comments