राजीनामापछि नयाँ चर्चा : सुधन नै फेरि गृहमन्त्री बन्ने ‘चान्स’

त्यसपछि भयो ‘डिसिजन’

User Image जनेश ठकुल्ला | २०८३ वैशाख ७ गते १९:५५
Image of https://mayorsap.com/storage/photos/shares/suklumbass_1.jpg

गृहमन्त्री सुधन गुरुङले पद सम्हालेको एक महिना नबित्दै राजीनामा दिए । गत चैत १३ गते गृहमन्त्रीको सपथ लिएका गुरुङले २७ दिनमै पद छाड्नु पर्यो । केही दिनअघि मात्रै उनी सम्पत्ति शुद्धीकरणका अभियुक्तहरूसँग जोडिएको व्यवसायमा सेयर लगानी गरेको खुलासा भएपछि विवादमा तानिएका थिए । त्यही विवाद थप चर्किदैँ गएपछि सुधनले गृहमन्त्रीबाट राजीनामा दिएका हुन् ।

राजीनामा दिनुअघि गृहमन्त्री गुरुङले मंगलबार राति सुरक्षा निकायका प्रमुखहरूसँग झन्डै ५ घण्टा लामो गोप्य छलफल गरेका थिए । साँझ ६ बजेदेखि राति ११ बजेसम्म चलेको उक्त बैठकमा गृह सचिव राजकुमार श्रेष्ठ, नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र काठमाडौँका प्रमुख जिल्ला अधिकारीलगायत उच्च अधिकारीहरूको उपस्थिति थियो । गृह मन्त्रालयमा राति अबेरसम्म चलेको बैठकमा के छलफल भयो भन्ने कुरा अहिलेसम्म गोप्य नै राखिएको छ । उक्त छलफललाई कुनै ठुलो अप्रेशनको योजनाका रूपमा हेरिएको थियो । तर, अकस्मात् सुधनको राजीनामा आउनुले धेरैलाई अचम्ममा पारेको छ ।

सुरुवाती दिनमा हाई–प्रोफाइल व्यक्तिलाई पक्राउ गरेर वाहवाही कमाएका गृहमन्त्री सुधन पछिल्ला केही दिनदेखि विवादको घेरमा परेका थिए । गुरुङको नाम बिचौलिया भनेर चिनिएका दीपक भट्ट र सुलभ अग्रवालसँग जोडिएको थियो । उनीहरू संलग्न रहेको भनिएको स्टार माइक्रो इन्स्योरेन्स कम्पनीमा सुधन संस्थापक सेयरधनी रहेको तथ्य बाहिरिएपछि चौतर्फी आलोचना सुरु भयो ।

गृहमन्त्रीको पदमा बसेको व्यक्ति आर्थिक विवादमा मुछिएपछि सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तसम्म उनको भूमिकामाथि प्रश्न उठ्न थाल्यो, भने अर्कोतर्फ सरकारमाथि दबाब पनि बढिरहेको थियो । बिचौलिया दीपक भट्टको कम्पनीमा सुधन संस्थापक सेयरधनी रहेको खुलेपछि उनी नैतिक संकटमा समेत परेका थिए ।

राजीनामा दिएलगत्तै गुरुङले सामाजिक सञ्जालमा चोटिलो स्टाटस लेख्दै मिडियामाथि पनि प्रश्न उठाए । उनले ‘कति मिडियाकर्मी साथीहरूको कहाँ–कहाँ स्वीट सेयर छ, त्यो पनि बिस्तारै आउला । रामराज्यको चाहना राख्नेहरूले त्याग र नैतिक साहस पनि देखाउन सक्नुपर्छ’ भनेका छन् । उनले स्वार्थको द्वन्द्व  नहोस् भनेर आफूले पद छोडेको दाबी गर्दै आफूमाथि निष्पक्ष छानबिन गर्न समेत माग गरेका छन् ।

रास्वपाले गलत गर्नेलाई तत्काल फिर्ता बोलाउने अर्थात् राइट टु रिकलको नारा उठाउँदै आएको छ । यसअघि श्रममन्त्री दीपक शाह विवादमा मुछिनेबित्तिकै रास्वपाले उनलाई तत्काल पदबाट हटाएर एउटा उदाहरण पेस गर्न खोजेको थियो । तर, सुधनको हकमा भने रास्वपा सुरुमा निकै मौन देखियो । पछि चौतर्फी विरोध चकिँदै जाँदा सभापति रवि लामिछानेसँगको लामो छलफल र त्यसपछि प्रधानमन्त्री बालेन शाहसँगको भेटपछि सुधनले राजीनामा बुझाउन बाध्य भए । ढिलै भए पनि सुधनले नैतिकता देखाउँदै पदबाट राजीनामा दिनुलाई सकारात्मक रूपमा हेरिएको छ ।

हुन त रास्वपा सभापति रवि लामिछानेले सुरुमा डिपी अर्याललाई गृहमन्त्री बनाउन चाहेका थिए । तर, प्रधानमन्त्री बालेन शाहको व्यक्तिगत छनोट र अडानका कारण सुधनलाई गृहको साँचो सुम्पिएको बताइन्छ । त्यसैले पनि अहिले उनको राजीनामालाई व्यक्तिगत विवाद मात्र नभई पार्टीभित्रको शक्ति सन्तुलनसँग जोडेर पनि हेरिएको छ ।

रोचक संयोग के छ भने, यसअघि एमाले र तत्कालीन माओवादीसँग सरकारमा गएका बेला रवि लामिछाने आफैँ गृहमन्त्री हुँदा ३२ दिनमा पदबाट बाहिरिनुपरेको थियो । अहिले सुधन गुरुङले २७ दिनमै राजीनामा दिएका छन् । रविले ३२ दिनमै गृहमन्त्रीबाट राजीनामा दिनु परेको रेकर्ड सुधनले तोडेपछि रास्वपाभित्र गृहमन्त्री पद अस्थिर बन्ने गरेको व्यंग्यत्मक टिप्पणी हुन थालेको छ । साथै, सरकार गठन भएको २७ दिनमै दुई मन्त्रीको पद गइसकेको छ । यसअघि श्रममन्त्री दीपक शाह हटाइएका थिए, भने अहिले गृहमन्त्री सुधनले राजीनामा दिए । छोटो समयमा मन्त्री फेरिएपछि सरकारको स्थायित्व र निर्णय क्षमतामाथि प्रश्न उठ्न थालेको छ ।

सुधनको राजीनामासँगै अब गृहमन्त्री को बन्ला भन्ने कौतुहलता पनि बढेको छ । रवि लामिछानेले आफू निकट दीपक बोहरालाई अघि सार्न खोजेका छन्, भने प्रधानमन्त्री बालेन शाहले राजु पाण्डे अथवा अमरेशकुमार सिंहलाई गृहमन्त्री बनाउन चाहेको बुझिएको छ । यसले रवि र बालेनबीच फेरि शक्ति संघर्ष बढ्न सक्ने देखिन्छ । तर, अहिलेका लागि भने प्रधानमन्त्री बालेनले गृहमन्त्रालयको जिम्मेवारी आफैँले सम्हाल्ने निर्णय गरेका छन् ।

गुरुङले राजीनामा दिए पनि उनीमाथि लागेको आरोपबारे छानबिन गर्न समिति बनाउने तयारी भइरहेको छ । यदि भोलि छानबिन समितिले उनलाई निर्दोष ठहर गरिदिएमा गुरुङलाई पुनः गृहमन्त्रीकै रूपमा फर्काउन सक्ने सम्भावनालाई पनि नकार्न सकिँदैन । यद्यपि, हाललाई भने प्रधानमन्त्री बालेन शाह र रास्वपा दुवैका लागि अप्ठ्यारो स्थिति सिर्जना भएको देखिन्छ ।

हेर्नुहोस् भिडियो:–

 


Facebook Comments