पोखरा महानगरद्वारा रासायनिक मल बिक्री गर्न ७१ सहकारीको नाम सूचीकृत


पोखरा महानगरपालिकाले नेपाल सरकारले अनुदानमा उपलब्ध गराउने रासायनिक मल बिक्री वितरण गर्न ७१ सहकारीको नाम सूचीकृत गरेको छ ।
शुक्रबार बसेको महानगरपालिका मल वितरण व्यवस्थापन समितिको बैठकले विभिन्न ७१ वटा सहकारीको नाम सूचीकृत गरेको समिति संयोजक तथा महानगरकी उपप्रमुख मञ्जुदेवी गुरुङले जानकारी दिइन् ।
केन्द्र सरकारले तोकेको मूल्यमा युरिया, डिएपी र पोटासलगायत रासायनिक मल कृषकलाई दिनुपर्ने र मूल्यसूची देखिने गरी राख्नुपर्ने सर्तसहित सहकारीको नाम सूचीकृत गरेको उनले बताइन् । मल डिपोदेखि बिक्री केन्द्रको दूरीका आधारमा युरिया प्रतिकिलो १९ रुपैयाँ ४५ पैसादेखि २१ रुपैयाँ पाँच पैसासम्म निर्धारण गरिएको छ । डिएपीको प्रतिकिलो ४८ रुपैयाँ ४५ पैसादेखि ५० रुपैयाँ पाँच पैसा र पोटासको मूल्य ३६ रुपैयाँ ४५ पैसादेखि ३८ रुपैयाँ पाँच पैसासम्म तोकिएको छ।
सूचीकृत बिक्रेतालाई मलको कोटा निर्धारण गरिएको छ ।