Ad Image

लमहीका मेयरले आफ्नै घर भत्काएर सुरु गरे हुलाकी सडक विस्तार

User Image Mayorsap | ९ महिना अगाडि
Image of storage/news/1724293419.jpg

लमही नगरपालिकाका मेयर जोगराज चौधरीले लमही-कोइलाबास हुलाकी सडक विस्तार अभियानलाई अघि बढाउन आफ्नै पुरानो घर भत्काएका छन्। 

बुधबार दिउँसो लमही बजारमा रहेको आफ्नो घरलाई डोजरमार्फत् भत्काएर चौधरीले सडक विस्तारको काम सुरु गरेका हुन । मेयर चौधरीले भने, "यो मेरो पुरानो घरमा विगतमा धेरै कार्यालयहरू बसेका थिए र व्यक्तिगत रूपमा पनि प्रयोगमा आएको थियो। तर, सडक फराकिलो बनाउने क्रममा घर सडक क्षेत्रमा परेपछि मैले मेरै घर भत्काएर विस्तारको काम सुरु गरे।" 

भारत सरकारको ७६ करोड अनुदान सहयोगमा ३३.४६ किलोमिटर लामो लमही-कोइलाबास हुलाकी सडक विस्तार गरी कालोपत्र गरिएको छ। यस क्रममा ३६ करोड रुपैयाँभन्दा बढी बजेट मुआब्जामा खर्च भएको छ। 

लमही बजार क्षेत्रमा सडक साँघुरो भएका कारण सडक फराकिलो बनाउने अभियान सुरु गरिएको हो। यसअघि, सडक डिभिजन कार्यालय दाङले साउन २९ गते सूचना निकालेर सडकको दायाँ-बायाँ १५/१५ मिटर क्षेत्रमा परेका सबै संरचना हटाउन ३५ दिने म्याद दिएको थियो। 

स्थानीयवासीले जग्गाको मुआब्जा पाए पनि घरको क्षतिपूर्ति पाउनुपर्ने माग गर्दै संघर्ष समिति गठन गरेका छन्। ३२ जना स्थानीयले घरको क्षतिपूर्ति माग गर्दै लमही नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष ओमप्रसाद सुवेदीलाई ज्ञापनपत्र बुझाएका छन्। 

मेयर चौधरीको घर भत्काएर सडक विस्तार सुरु गर्दा प्रतिनिधि सभा सदस्य मेटमणी चौधरी, प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदी, डिभिजन कार्यालय प्रमुख गुरुप्रसाद अधिकारी, प्रहरी, र अन्य जनप्रतिनिधिहरू पनि उपस्थित थिए।