Ad Image

सुई नपाउँदा छट्पटिन्छन्, ‘हेमोफिलिया’का बिरामी

User Image मेयरसाप डेस्क | ९ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/khop.jpg

दाङ । यहाँको तुलसीपुर उपमहानगरपालिका–७ स्थित रामबहादुर दहित लामो समयदेखि हेमोफिलियाका बिरामी छन् । उनीसँगै उनका तीन दाजुभाइ यो रोगबाट ग्रसित छन् । तर, समयमा औषधि नपाउँदा वंशानुगत यो रोगबाट उहाँहरू छटिपटिनुपर्ने अवस्था छ । यो रोगको उपचारका लागि बुटवल वा काठमाडौँ जानुपर्ने अवस्था छ । “हामीले नजिकमा औषधि पाउँदैनौँ”, उनले भने, “यसका लागि काठमाडौँ वा बुटवल जानुपर्छ ।”

हप्तामा एकपटक बुटवल गएर ‘फ्याक्टर’ नामक औषधि सुईमार्फत दिनुपर्छ । कुनै कारणले शरीरबाट रगत बगेमा त्यो रोकिँदैन । त्यो रोक्न सुई नै लगाउनु पर्छ । तर, त्यो जिल्लामा नहुँदा बुटवल वा काठमाडौँ जानुपर्ने अवस्था छ । त्यसरी टाढा जाँदा बिरामी बाटोमै मृत्यु हुनसक्ने उनको भनाइ छ । 

फ्याक्टर पनि सहजै पाउन सक्ने अवस्था नभएको हेमोफिलिया पीडित शेरबहादुर चौधरीले गुनासो गरे । “फ्याक्टर ल्याउन बुटवल जानुपर्छ, तर त्यहीँ पनि पाउन मुस्किल हुन्छ”, उहाँले भने। 

फ्याक्टर नामक सुईको मूल्य महँगो छ । तर, सरकारले अहिले निःशुल्क गरेको छ । लुम्बिनी प्रदेश सरकारले निःशुल्क गरे पनि औषधि आपूर्ति सहज छैन । सरकारले हेमोफिलियाका बिरामीलाई खासै चासो नदिएको उनले गुनासो गरे । 

हाल लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र भेरी अस्पताल बाँकेमा पाइन्छ । दाङको तुलसीपुरमा मात्र छजना हेमोफिलियाका बिरामी छन् । तुलसीपुर उपमहानगरपालिकाले हेमोफिलियाका बिरामीलाई सुई लगाउन बुटवल जाँदा सहज होस् भनी बर्सेनि आर्थिक सहयोग गर्ने गरेको छ । चालु आर्थिक वर्षमा मात्र पनि प्रतिबिरामी रु १५ हजारका दरले आर्थिक सहयोग गरेको उपमहानगरपालिका प्रमुख टीकाराम खड्काले बताए।

के हो हेमोफिलिया ?

हेमोफिलिया रगतसम्बन्धी आनुवंशिक रोग हो । प्रोटिनको कमीबाट हुने  यो रोग लागेपछि शरीरमा चोट लाग्दा या छाला काट्दा रगत नजम्ने समस्या हुन्छ । जसका कारण शरीरबाट रगत धैरै बग्छ । यसैले यो रोगबाट बिरामीको मृत्युसमेत हुनसक्ने तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रवर्द्धन महाशाखा प्रमुख ओमपी न्यौपानेले बताउए । “यो रोगको पूर्ण उपचार छैन । कुनै ठूलो चोट या दुर्घटनाका कारण हेमोफिलियाका रोगीको रगत बढी बग्ने सम्भावना भएकाले होसियार रहनुपर्छ”, उनले भने । 

यो रोग लागेका व्यक्तिको पिसाबमा रगत आउनु, गुदद्वारबाट रगत आउनु, सानो चोट लाग्दा पनि गहिरो घाउ हुनु, बिनाकारण शरीरमा घाउ हुनु, चोट लाग्दा धेरै रगत आउनु, बेलाबेलामा नाकबाट पनि रगत आउनु, जोर्नीमा पीडा हुनु, बच्चामा चिडचिडाहट हुनु, कयौँपटक आँखा धमिलो देखिनुजस्ता लक्षण हुन्छन् ।