दाजुभाइले एकै युवतीसँग गरे विवाह : समाज स्तब्ध, दुनियाँ चकित !


काठमाडौं । भारतको हिमाचल प्रदेशमा हालै सम्पन्न एक विवाहको तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ, जहाँ एक दुलहीलाई दुई बेहुलासँगै उभिएको देखाइएको छ । ती दुवै बेहुला साँचो दाजुभाइ हुन् र उनीहरूले ती युवतीसँग विवाह गरिसकेका छन् । यो हट्टी समुदायको हजारौं वर्ष पुरानो बहुपति प्रथा (पोलिएन्ड्री) को पुनरुत्थान हो, जसले धेरैलाई चकित पारेको छ ।
भारतमा बहुपति प्रथाको चलन महाभारत कालदेखि नै रहेको मानिन्छ, जहाँ पाँच पाण्डवहरूले द्रौपदीसँग विवाह गरेका थिए । यस्तो परम्परा हिमाचल प्रदेश र उत्तराखण्डका केही पहाडी क्षेत्रहरू (जस्तै उत्तराखण्डको जौनसार बावर, हिमाचल प्रदेशको किन्नाउ र सिरमौर जिल्लाको गिरिपार) मा आज पनि प्रचलित छ ।
केन्द्रीय हट्टी समितिका महासचिव कुन्दनसिंह शास्त्रीले परिवारको खेतीयोग्य जमिनलाई थप बाँडफाँड हुनबाट जोगाउन हजारौं वर्षअघिदेखि यो परम्परा सुरु भएको बताएका छन् । उनले ‘जज्दा’ नामक यो परम्पराले संयुक्त परिवारमा भाइचारा र आपसी सद्भाव बढाउने विश्वास व्यक्त गरे । एउटै वा फरक आमाबाट जन्मिएका दुई वा दुईभन्दा बढी दाजुभाइले एउटै दुलहीसँग विवाह गर्दा उनीहरूको आपसी समझदारी अझ गहिरो हुने उनको तर्क छ ।
हिमाचल प्रदेशमा हट्टी समुदायलाई अनुसूचित जनजातिको दर्जा प्राप्त छ र बहुविवाहको यस प्रथालाई ’जोडिदारा’ नामले चिनिन्छ । यसको सामाजिक र कानुनी मान्यता पनि छ । स्थानीय तहमा यो अनौठो जनजाति विवाहलाई ’जज्दा’ भनिन्छ, जसमा दुलहीलाई बेहुलाको घरमा लगिन्छ, जहाँ ’सिंज’ भनिने सबै अनुष्ठानहरू सम्पन्न हुन्छन् ।
हिमाचल प्रदेशको सिरमौर जिल्लाको गिरिपार इलाका यसै विवाहलाई लिएर चर्चामा आएको हो । यस विवाहको विशेष पक्ष के हो भने, दुवै दाजुभाइ निकै शिक्षित छन् । जसमध्ये एक जना सरकारी सेवामा जलशक्ति विभागमा कार्यरत छन् भने अर्को विदेशमा कार्यरत छन् । उनीहरूले पनि पुरानो परम्परालाई अङ्गालेर समाजमा नयाँ बहस सिर्जना गरेका छन् ।
हट्टी समुदायकी सुनिता चौहानले हिमाचल प्रदेशको शिल्लाई गाउँमा गत १२ जुलाई २०२५ मा परम्परागत रूपमा यो विवाह गरेकी हुन् । तीन दिनसम्म चलेको विवाह समारोहमा लोकगीत र नृत्यको अनुपम संगम देखिएको थियो भने सयौं पाहुनाहरू उपस्थित थिए । दुलहा प्रदीप र कपिल नेगीले सुनितासँग पुरातन बहुपत्नी परम्पराअनुसार विवाह गरेका थिए ।
मिडिया रिपोर्टमा उल्लेख भएअनुसार, यो परम्परागत प्रथा पैतृक जग्गाको अनावश्यक बाँडफाँड रोक्नका लागि सुरु गरिएको हो । यद्यपि, पैतृक सम्पत्तिमा महिलाको हिस्सा सम्बन्धित आदिवासी समाजमा अझै पनि विवादास्पद मुद्दा बनेको छ ।