Ad Image

बागमती प्रदेश उद्योग मन्त्री तामाङको एक वर्ष: यस्ता छन् उद्यमीलाई आशा जगाउने कार्यक्रमहरु

User Image मेयरसाप डेस्क | १६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/182ff655-7351-46ca-a2d6-0985a5bde4e0.jpg

हेटौंडा । बागमती प्रदेशको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री शुकमाया तामाङले आ.व. २०८२/०८३ मा उद्यमीहरुलाई आशा जगाउने कार्यक्रमहरु ल्याएकी छन् । स्टार्टअप, विजनेश इन्क्युबेशन सेन्टरदेखि उत्पादनमूलक उद्योगमा विद्युत महशुलमा छुटसम्मका विभिन्न कार्यक्रमहरु उनले ल्याएकी छिन् । राजमार्गमा बजार विकासका कार्यक्रमदेखि सिमान्तकृत समुदायलाई उद्यमशिलतामा जोड्न विशेष अनुदान लगाएतका कार्यक्रमहरु पनि समावेश छन् ।

मन्त्री तामाङले दिगो रुपमा स्वरोजगार सिर्जना गर्ने उद्देश्यका साथ बोटे, माझि, हायु, बनकरीया र मुसहर समुदायमा वित्तिय पहुँच वृद्धि गरी आयआर्जनमा टेवा पुर्याउन नेपाल सरकारसँग संघीय विशेष अनुदान माग गरिएकोमा संघीय विशेष अनुदान तर्फ आव २०८२/०८३ का लागि ५ करोड ५० लाख बजेट विनियोजन भई चितवन, मकवानपुर, सिन्धुली र रामेछापमा सो कार्यक्रम कार्यान्वयन हुने चरणमा रहेको छ ।

बागमती प्रदेशमा उद्योग, उद्यमशीलता, वाणिज्य र बजारीकरण क्षेत्रको प्रवद्र्धन गर्न सो सँग सम्बन्धित विषयमा स्नातकोत्तर स्तरको शोधपत्रहरुमा अध्ययन र अनुसन्धान होस् भन्ने हेतुले १० उत्कृष्ट शोधपत्रलाई प्रतिशोधपत्र १ लाखका दरले अनुसन्धान वृत्ती प्रदान गरिएको उल्लेख गरिएको छ । 

मन्त्री तामाङले चालु आर्थिक वर्ष २०८२/८३ मा बागमती प्रदेशका १३ वटै जिल्लाहरुमा स्टार्टअप, विजनेश इन्क्युबेशन सेण्टर तथा कोशेली घरको स्थापना एवं प्रविधि हस्तान्तरण सहितको सीप विकास तालिम मार्फत् नवप्रवर्तन र उद्यमशीलता प्रबद्र्धन कार्यक्रम सञ्चालन गर्न बजेट विनियोजन भएको जानकारी दिइन् ।

स्थानीय श्रोत, साधनको उच्चतम उपयोग गर्दै रोजगारी सिर्जना र उत्पादन प्रवद्र्धन गर्न बागमती प्रदेश भित्रका १३ वडाहरुमा एक वडा एक उद्यम र ५ स्थानीय तहहरुमा “एक स्थानीय तह एक प्रमुख उद्योग” कार्यक्रमका लागि बजेट विनियोजन भएको जानकारी दिइन् ।

मन्त्री तामाङले बागमती प्रदेश स्थित मदनभण्डारी राजमार्ग र पूर्व–पश्चिम राजमार्ग क्षेत्रका भण्डारा, हात्तीर्मुडे, झुरझुरे, झनझने, मरिणछाप, भीमान, डकाहा, खोरभन्ज्याङ (दुधौली) लाई सम्बन्धित स्थानीय तहहरुसँग सहकार्य एवं साझेदारी गरी बजार क्षेत्रको रुपमा विकास तथा प्रवद्र्धन गर्ने कार्यको सुरुवात गर्न बजेटको व्यवस्था गरिएको बताएकी छन् ।

उनले मुसहर, बोटे, हायु, माझी, बनकरिया समुदायका नागरिकहरुलाई सीप विकास तालिम तथा प्रविधि हस्तान्तरण गरी स्वरोजगार बनाउन सिन्धुली, चितवन, मकवानपुर र रामेछाप जिल्लाका लागि ५ करोड ५० लाख बजेट विनियोजन गरिएको उल्लेख गरिन्।

परम्परागत मौलिक लघु उद्यम तथा हस्तकला उद्योगहरू प्रवद्र्धन गर्ने कार्यलाई थप प्रभावकारी बनाउन पहिलो चरणमा घर जग्गा बाहेक बढीमा २० लाख रुपैयाँसम्मको स्थिर पुँजी लगानीमा सञ्चालित ललितपुर र सिन्धुलीमा स्थापना भएका लघु उद्यम, तथा हस्तकला उत्पादन सम्बन्धी उत्पादनमुलक उद्योगहरुमा फिडर र डेडिकेटेड बाहेक प्रयोग हुने विद्युत महशुलमा ५० प्रतिशत सहुलियत प्रदान गर्ने कार्यको सुरुवातका लागि बजेट व्यवस्था गरिएको उल्लेख गरिन् ।