मेचीनगर नगरपालिकाका २ महिलामा ‘जापानिज इन्सेफलाइटिस’ सङ्क्र*मण

झापा । मेचीनगर नगरपालिकाका दुई महिलामा ‘जापानिज इन्सेफलाइटिस’ सङ्क्रमण पुष्टि भएको छ । मेचीनगर स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाका अनुसार वडा नं ३ की ३६ वर्षीया र वडा नं ५ की ५५ वर्षीया महिलामा जापानिज इन्सेफलाइटिसको सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमित दुबै जनाको विर्तामोडस्थित पूर्णटुङ्ग बिर्तासिटी अस्पतालमा उपचार गरिएको छ । उपचारपछि भर्खरै घर फर्किएका दुबै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको शाखा प्रमुख सापकोटाले बताइन् ।
जापानिज इन्सेफलाइटिस लामखुट्टेको टोकाइबाट सर्ने र मस्तिष्कमा सङ्क्रमण हुने एक प्रकारको भाइरसजन्य रोग हो । यसले सङ्क्रमितको स्नायु प्रणालीलाई अङ्गभङ्ग बनाउनुका साथै बिरामीको मृत्यु समेत हुनसक्ने स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटी बताउँछन् ।
नगरमा जापानिज इन्सेफलाइटिसको सङ्क्रमण देखा परेपछि यसको रोकथाम र उपचारको बारेमा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख बाराकोटी, काठमाडौँस्थित विश्व स्वास्थ्य सङ्गठनकी प्रतिनिधि डा.सोनिया भगत, प्रादेशिक अस्पताल भद्रपुरकी डा.सङ्गीता साह लगायतको विज्ञ टोलीले मेचीनगरका जनप्रतिनिधि र स्वास्थ्य शाखाका कर्मचारीसँग छलफल गरेको नगरका प्रेस संयोजक अर्जुन कार्कीले जानकारी दिए ।
विज्ञ टोलीले सङ्क्रमण फैलिन नदिन समुदायमा जनचेतना अभिवृद्धिका कार्यक्रम गर्न, बिरामीको खोजी र उपचारको व्यवस्था मिलाउन सुझाव दिएको कार्कीले बताए । छलफलमा सहभागी नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले सङ्क्रमण फैलिन नदिन स्वाथ्यकर्मीलाई घर–घर पुगेर सचेतना जगाउन र सङ्क्रमितको समयमा नै स्वास्थ्य उपचारको व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।
सङ्क्रमणको अवस्था जटिल बनेमा प्रादेशिक अस्पताल भद्रपुरमा समेत उपचारको व्यवस्था मिलाउन आवश्यक समन्वय गरिने उपप्रमुख मीना उप्रेतीले बताइन् । जापानिज इन्सेफलाइटिस सार्ने भाइरसबाट सङ्क्रमित हाँस, कुखुरा, सङ्गुर, बङ्गुर, घरपालुवा चरा, बकुल्ला आदिलाई टोकेको लामखुट्टेले मानिसलाई टोकेपछि रोगको सङ्क्रमण फैलिन्छ ।
स्वास्थ्य शाखाकी प्रमुख सापकोटाका अनुसार टाउको दुख्ने, उच्च ज्वरो आउने, बेहोस हुने, घाँटीमा गाह्रो भएर सास फेर्न कठिन हुने, कम्पन हुने र पक्षघात हुने यो रोगको प्रमुख लक्षण हुन् । जापानिज इन्सेफलाइटिसबाट जोगिने सबैभन्दा राम्रो उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्नु नै हो । शरीर ढाक्नेगरी कपडा लगाउने र झुलभित्र सुत्ने गरेमा रोगको सङ्क्रमणको जोखिम कम हुने उनको भनाइ छ ।
यो रोगबाट बच्नका लागि बालबालिकालाई १२ महिनाको उमेरमा खोप लगाउनुपर्छ । यदि यो खोप लगाउन छुटेको रहेछ, भने पाँच वर्षको उमेरमा पनि खोप लगाउन सकिने उनले जानकारी दिए ।