शिवपुरी जंगलदेखि मेलबर्न अस्पतालसम्मः बाबाको ध्यानले जित्यो रोग र विज्ञान


त्रिभूवन विमानस्थलको अतिविशिष्ठ कक्षको ठिक पछाडि पट्टी सैनिक क्याम्प छ । त्यसको अलि पश्चिम पट्टी शिवपूरी बाबाको आश्रम छ । बाबाको समाधिमा नियमित रुपमा भक्तजनहरु जम्मा हुन्छन् । ध्यान गर्छन् । ध्यानमा शिवपूरी बाबाको योगदानबारे चर्चा गर्छन् ।
शिवपूरी बाबाको जन्म सन् १८२६ मा भारतको केरलामा भएको थियो । उनको नाम जयन्थन नामवुद्धिश्रीपद रहेको आलेखहरुमा उल्लेख छ । पछि ध्यानमा लागेपछि उनका गुरूले उनको नाम स्वामी गाविन्दानन्द राखिदिए । जीवनको उत्तरार्धमा नेपालको राजधानी काठमाडौंस्थित शिवपुरी जंगलमा बसेपछि उनलाई शिवपूरी बाबा नामले चिनियो । बाबा ‘अद्भुत’ व्यक्ति थिए । उनीबारे बेलायती लेखक जोन गोडोल्फिन बेनेटले आफ्नो पुस्तक लङ पिल्ग्रिमेजमा उल्लेख गरेका छन् । बेनेट बेलायती दार्शनिक हुन् । उनले इन्जिनियरिङ, गणित र मनोविज्ञानमा निकै योगदान गरेका छन् । मनोविज्ञानमा उनले सिस्टम थ्योरी विकास गरेका छन् ।
बेनेटका अनुसार बाबाले उनलाई आफ्नो निधन भएपछि मात्र पुस्तक लेख्ने अनुमति दिएका थिए । त्यसैले सन् १९६३ मा बाबाले शरीर छोडेपछि सन् १९६५ मा बेनेटले पुस्तक लेखे । उनलाई पुस्तक लेख्न नेपालीहरुले पनि सहयोग गरेका थिए । यसरी सहयोग गर्नेमध्ये ठाकुरलाल मानन्धर, कवि सिद्धचरण श्रेष्ठ, माधव बाजे भनेर चिनिएका माधव तिमल्सिनालगायत धेरै श्रद्धालुहरु थिए । पछि ठाकुरलालका छोरा गिरिधर लाल मानन्धनरले बेनेटको परिवारका सदस्यसँग भेट गरी बाबाको पुस्तकको नेपाली अनुवाद प्रकाशन गर्ने अनुमति लिएका थिए ।
माधव बाजेले जीवनभर बाबाको सेवा गरे । आज यिनै बाजेका सन्तानले यो समाधिको रेखदेख गर्दैआएका छन् ।
बाबाको आश्रमका लागि नेपाल सरकारले वनक्षेत्र प्रदान गरेको बताइन्छ । बाबाले जीवनको ३० वर्ष विश्व भ्रमण गरेका थिए । बेनेटका अनुसार बाबा सन् १८९६ देखि १९०१ सम्म बेलायतको दरबारमा बसेका थिए । त्यहाँ उनले महारानी भिक्टोरियालाई ध्यान सिकाएको इतिहासका आलेखहरूमा उल्लेख गरिएको छ । ओशो रजनीशले समेत बाबाको समाधिमा ध्यान गर्नु भनेर आफ्ना सन्यासीहरुलाई निर्देश गरेका छन् । कतिपयले त बुद्धले भारतमा धेरै काम गरेकाले त्यसको गुन तिर्न बाबा नेपाल बसिदिएको पनि दाबी गर्छन् ।
ध्यानलाई धर्मभन्दा माथि वैज्ञानिक आधारमा हेरिनुको पछाडि विभिन्न कारणहरूमध्ये एक कारण चिकित्सासँग पनि जोडिएको छ । सुरुमा धर्म मानिए पनि ध्यानले वैज्ञानिक आधार त्यतिबेला पायो, जब चिकित्सकहरुले उपचारमा यसको उपयोग गर्न थाले । यसरी ध्यानलाई विज्ञानसँग जोडेर हेर्ने पहिलो चिकित्सक थिए, अस्ट्रेलियाका चिकित्सक डा. आइन्जली मेयर्स । उनी दोस्रो विश्वयुद्धका घाइते सैनिकको उपचारमा संलग्न थिए । यस क्रममा एकै किसिमको चोटपटक लागेका घाइतेहरुमध्ये कोही छिटो निको हुन्थे भने, कोही ढिलो गरेर निको हुन्थे । मनोचिकित्सामा स्नातकोत्तर गरेका मेयर्सलाई के कारणले कोही छिटो र कोही ढिलो निको भए भन्नेबारे अनुसन्धान गर्न मन लाग्यो । उनले मानिसको संस्कृतिले उसको मनोवृत्तिलाई प्रभाव पारेको हुन्छ र उसको इच्छाशक्तिमा पनि संस्कृतिले प्रभाव पार्दछ भन्ने तथ्य पत्ता लगाए । त्यसपछि उनी संस्कृतिको अध्ययनमा लागे । यसक्रममा उनले बेलायती दरबारमा शिवपूरी बाबाले महारानी भिक्टोरियालाई ध्यान सिकाएको तथ्य थाहा पाए ।
डा. मेयर्सलाई बाबासँग भेट्न मन लाग्यो । उनी हानिए काठमाडौं ।बाबा शिवपूरीबाट धु्रवस्थलीमा सरेका थिए । बाबासँग मेयर्सको सन् १९६१ मा भेट भयो । भेटका क्रममा मेयर्सले बाबासँग सोधे —तपाइँ कसरी दुखाइ व्यवस्थापन गर्नुहुन्छ ? बाबाले अचम्म लाग्ने जवाफ दिए— म पीडा महसुस गर्छु तर मलाई दुख्दैन । यस्तो आश्चर्यजनक उत्तर पाएपछि डा. मेयर्सले थप प्रश्न गरे —यसलाई कसरी बुझ्न सकिन्छ, र यसबारे प्रष्ट हुन के गर्नुपर्छ ? बाबाले जवाफ दिए—यो कुरो बुझ्न तिमीले ध्यान गर्नुपर्छ । विज्ञान पढेका चिकित्सक मेयर्सलाई ध्यानलाई उपचारमा उपयोग गर्न सके समग्र मानवजातीको कल्याण हुने आशा पलायो । उनी दुईचार दिन बाबासँगै बसे । ध्यान सिके । यसलाई थप आधुनिक बनाउँछु भनेर मेलबर्न फर्किए । उता गएर उनी सबैथोक छोडेर ध्यानमा लागे ।
तीन वर्षपछि उनलाई बाबाले भने झैं पीडा महसुस गर्ने तर नदुख्ने अवस्था आए झैं लाग्यो । उनी यस विषयमा बाबासँग छलफल गर्न चाहन्थे तर त्यतिबेला बाबाले शरीर छोडिसकेका थिए । त्यसैले डा. मेयर्सले लट्याउने औषधि प्रयोग नगरी औजार मात्र प्रयोग गरी आफ्नै दाँतको शल्यक्रिया गरे । यसो गर्दा पनि उनी दुखाइ व्यवस्थापन गर्न सफल भए । यस अनुभवलाई समेटेर सन् १९६७ मा ‘रिलिफ विइदाउट ड्रग्स’ नामको पुस्तक लेखे । यस पुस्तकमा उनले मष्तिष्कले शरीरलाई ‘तिमी बिरामी छौ’ भन्ने जानकारी दिएन भने शरीरलाई आफू बिरामी भएको महसुस हुँदैन । ‘शरीरलाई महसुस नभएपछि हामीलाई पनि बिरामी छु भन्ने लाग्दैन’ भन्ने विषय उनले किताबमा उल्लेख गरे ।
यो पुस्तक प्रकाशन गरेपछि उनीमाथि अन्धविश्वास फैलाउन खोजेको आरोप लाग्यो । उनी डटेर लडे । उनले चिकित्सकको अभ्यास बन्द गरे । मेडिकल बोर्डको लाइसेन्स पनि त्यागे । उनी मात्र अनुसन्धानमा लागे ।
यस बीचमा उनले क्यान्सरका एक बिरामी भेटे । चौबीस वर्षीय पशुचिकित्सक इयान गाउलरलाई सन् १९७५ मा हाडको क्यान्सर भयो । चिकित्सकहरुले उनलाई बढीमा ६ महिना मात्र बाँच्ने घोषणा गरे । क्यान्सर थप विस्तार नहोस् भनेर उनको क्यान्सरयुक्त खुट्टा काटियो । डा. मेयर्स र डा. गाउलरबीच भेट भयो । मेयर्सले आफ्नो उपचार पद्दतीबारे गाउलरलाई सुनाए । यसै मरिने उसै मरिने भनेपछि गाउलर मेयर्सको उपचार पद्दती अपनाउन राजी भए ।
उपचारले गलेको शरीरले सुरुसुरुमा ध्यान गर्न कठिन पर्यो । खासगरी दिमागमा आउने विचारहरुले उनलाई निकै कठिन भयो । तर बाँच्ने आशाले उनले प्रयास जारी राखे । चिकित्सकहरुले दिएको ६ महिनाको सीमा कटेपछि उनलाई बाँच्ने आशा पलायो । उनी नियमित ध्यान गर्दै गए । उनले तीन वर्षपछि स्वास्थ्य परीक्षण गराए । सन् १९७८ मा उनलाई क्यान्सर निको भएको घोषणा गरियो । पछि सन् २००८ मा पनि उनको स्वास्थ्य परीक्षण गरियो । उनी अझै पनि स्वस्थ छन् । उनी मेलबर्नमा अहिले पनि क्यान्सर रोगीहरुमा ‘ध्यान विधि’ अपनाउँदै आएका छन् । यहाँ यो विषयलाई रहस्यात्मक रुपमा हेरिनुहुन्न । गाउलरले ध्यानका साथै चिकित्सकको उपचार पनि जारी राखे । ध्यान गरेर क्यान्सर निको भयो भनेर बेतुकका तर्क गर्न खोजिएको रुपमा यस लेखलाई नलिऔं । मात्र उपचारलाई ध्यानले बल प्रदान गरेको विषय हो , यो ।
यसपछि डा. मेयर्सको लोकिप्रयता निकै बढ्यो । तर यस्तो विषय सर्वसाधारणले बुझ्ने गरी व्याख्या गर्नु सजिलो भने थिएन । उनले गाउलरमाथि उपयोग गरिएको उपचार विधिबारे सन् १९७८ मा मेडिकल जर्नल अफ अस्ट्रेलियामा अनुसन्धानात्मक लेख प्रकाशित गरे । यस विषयमा पश्चिममा धेरै हल्लिखल्ली भयो तर प्रमाण नै पेश गरेर विरोधमा अघि बढ्ने कसैले पनि प्रयास गरेनन् । डा. मेयर्सको सन् १९८६ मा निधन भयो ।
उनको मृत्यु भएको करिव तीन दशकपछि सन् २०११ मा अस्ट्रेलियाको मेलबर्नस्थित क्यानब्रिनी अस्पतालका डाक्टर इयान हाइनेस र ताजमानियास्थित रोयल होबर्ट अस्पतालका चिकित्सक रे लोयन्थलले इन्टर्नल मेडिसिन जर्नलमा लेख लेखेर डा. गाउलरको उपचारमा क्यान्सरको बायोप्सी नगरिएको र प्रमाण बिना नै उनको खुट्टा काटिएको दाबी गरे । उनीहरुले डा. गाउलरको उपचारमा उपयोग भएका सबै विधिमाथि थप अनुसन्धान गर्नुपर्ने पनि बताए । यति भएपछि गाउलर पनि चुप लागेनन् । उनले त आफैँले सबैथोक भोगेका छन् । एउटा मात्र खुट्टा टेकेर जीवन काटेका छन् । उनले पनि उपचारमा संलग्न चिकित्सकहरुसँग सम्पर्क गरे ।
उनको उपचारमा संलग्न मध्ये हाल निवृत्त जीवन बिताउँदै आएका डा. जोन डायलनले आजजस्तो सुविधा नभए पनि हचुवाका भरमा कसैको खुट्टा नकाटिएको बताए । त्यतिबेला डा. गाउलरको खुट्टामा क्यान्सरका कोष देखिएकाले नै काट्नु परेको उनले दाबी गरे । त्यतिबेला बायोप्सी आजजति सजिलो थिएन । तर बिना प्रमाण उपचार गरियो भन्न नमिल्ने उनको दाबी छ । डा. गाउलरले चिकित्कसहरुलाई आफ्नो उपचारबारे थप अनुसन्धान गर्न आह्वान गरेका छन् ।
डा. गाउलरले हालसम्म ७५ हजार भन्दा बढी मानिसलाई यो विधि सिकाएको बताएका छन् । डा. मेयर्सको निधनपछि डा. गाउलरले यस विधिमाथि थप अनुसन्धान गरी क्यान्सरका रोगीलाई उपचारका साथसाथै ध्यान र सन्तुलित भोजनको तरिका पनि थप गरे । आफ्नो पद्दतीबाट विश्वमा २५ हजारभन्दा बढी मानिस लाभान्वित भएको उनी दाबी गर्छन् । यसरी शिवपूरी बाबाको छोटो जवाफबाट सुरु भएको विद्याले आज संसारलाई ठूलो सुविधा प्रदान गरेको छ ।
Facebook Comments