लुम्बिनीलाई ७ विकेटले हराउँदै सुदूरपश्चिम प्लेअफ नजिक
एनपीएलमा सुदूरपश्चिमको लगातार चौथो जित
मेयरसाप डेस्क
|
२०८२ मंसिर ११ गते १६:४८
काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को एक्लो अपराजित टोली सुदूरपश्चिम रोयल्सले बिहीबार लुम्बिनी लायन्समाथि ७ विकेटको जित निकाल्दै प्लेअफ पुग्ने सम्भावना बलियो बनाएको छ ।
लुम्बिनी भने चारमध्ये तीन खेलमा पराजित हुँदै प्लेअफ दौडमा कठिन अवस्थामा पुगेको छ । लुम्बिनीले दिएको १४४ रनको लक्ष्य सुदूरपश्चिमले १८.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।
सुदूरपश्चिमका लागि विनोद भण्डारीले उत्कृष्ट ब्याटिङ गर्दै नटआउट ६९ रन बनाए । भण्डारीले आरिफ शेखसँग तेस्रो विकेटका लागि ९९ रनको महत्त्वपूर्ण साझेदारी गरेका थिए ।
टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनी १९.४ ओभरमा १४३ रनमा अलआउट भएको थियो । कप्तान रोहित पौडेलले ३५ रन र दिलिप नाथले ३१ रन बनाए ।
सुदूरपश्चिमका लागि हर्मित सिंह र अविनाश बोहराले समान ३–३ विकेट लिएका थिए । यस जितसँगै सुदूरपश्चिम रोयल्स अङ्कतालिकामा शीर्ष स्थानमा थप बलियो बनेको छ ।
Facebook Comments