निर्वाचनपछि किसान र श्रमिकको सरकार बन्नेछ : अध्यक्ष साम्पाङ
मेयरसाप डेस्क
|
२०८२ मंसिर २७ गते २२:१८
खोटाङ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले अब हुने निर्वाचनपछि नेपालमा किसान, गोठाला र खेतालाले चलाउने सरकार बन्ने दाबी गरेका छन्।
आज गृह जिल्ला खोटाङको दिक्तेल बजारमा आयोजित आमसभामा बोल्दै उनले श्रम संस्कृति पार्टीप्रति जनताको समर्थन बढ्दै गएको र त्यसको नेतृत्व आफूले गर्ने बताए ।
धरान उपमहानगरपालिकाका मेयरसमेत रहेका साम्पाङले स्पष्ट सोच र काम गर्ने नेताबाट मात्र देश विकास सम्भव हुने बताए। उनले बारम्बार उही समस्या समाधान गर्छु भनेर भोट मागिए पनि काम नभएको भन्दै आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सक्षम र इमानदार नेतालाई भोट गर्न आग्रह गरे।
अध्यक्ष साम्पाङले अब भाषणभन्दा काम गर्ने समय आएको भन्दै श्रम गर्ने मानिसलाई अवसर दिन सबै एक भएर अघि बढ्नुपर्नेमा जोड दिए।
कार्यक्रममा खोटाङका पूर्व जिल्ला विकास समिति उपसभापति सीताराम राई, पहिचानवादी नेता मोहन गुरुङलगायत विभिन्न पार्टी छोडेर आएका नेता–कार्यकर्ता श्रम संस्कृति पार्टीमा प्रवेश गरेका थिए।
यस्तै, कार्यक्रममा पार्टीको खोटाङ जिल्ला समिति गठन गरिएको जानकारी दिइयो। प्रताप राईको अध्यक्षतामा ५३ सदस्यीय जिल्ला कार्यसमिति बनेको छ। समितिको उपाध्यक्षमा उमा चाम्लिङ, सङ्गीता किराती र राजेन्द्र राई, सचिवमा धनीराम नछुङ, सहसचिवमा भविराज राई र मिलन खड्का, कोषाध्यक्षमा कौशिला राई, सहकोषाध्यक्षमा सुवास राई र प्रवक्तामा राजन राई चयन भएका छन्।
Facebook Comments