ई–७ भिसामा दक्षिण कोरिया कामदार पठाउने बाटो खुल्यो
मेयरसाप डेस्क
|
२०८२ मंसिर २८ गते ०३:०८
काठमाडौं । उच्च अदालत पाटनको आदेशपछि वैदेशिक रोजगार विभागले दक्षिण कोरियामा सीपयुक्त कामदार (ई–७ भिसा) पठाउनेसम्बन्धी कार्यविधि, २०८० को कार्यान्वयनमा लगाएको रोक फुकुवा गरेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ई–७ भिसामार्फत कामदार पठाउनका लागि कार्यविधि जारी गरेलगत्तै यसको चौतर्फी विरोध भएको थियो ।
उक्त कार्यविधिबाट ईपीएस (कोरियन भाषा परीक्षा) प्रणालीमा असर पर्ने भन्दै विरोध भएको थियो र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो ।
अख्तियारको निर्देशनपछि विभागले भदौ ३१ गते सूचना जारी गरी कार्यविधि कार्यान्वयनमा तत्कालका लागि रोक लगाएको थियो ।
विभागको सोही सूचनाका विरुद्धमा व्यवसायीहरू अदालत पुगेका थिए । उच्च अदालत पाटनले असोज ३१ गते विभागको रोक लगाउने सूचना कार्यान्वयन नगर्न–नगराउन आदेश दिएपछि मन्त्रालयले सोहीअनुसार विभागलाई परिपत्र गरेको थियो ।
विभागका निर्देशक टिकाराम ढकालका अनुसार, अदालत र मन्त्रालयको पत्रानुसार भदौ ३१ को सूचना फिर्ता लिइएको छ र कार्यविधि अब कार्यान्वयनको चरणमा पुगेको छ ।
यससँगै म्यानपावर कम्पनीमार्फत ई–७ भिसामा कोरियामा सीपयुक्त कामदार पठाउने प्रक्रिया सुचारु हुने भएको छ ।
Facebook Comments