कल्याणपुरका मेयर साहको मुद्दामा 'लगाउ राख्ने' आदेश
बकपत्र फेर्नेविरुद्ध पनि मुद्दा
मेयरसाप डेस्क
|
२०८२ मंसिर २८ गते ०३:०८
सिरहा । सिरहाको कल्याणपुर नगरपालिकाका निलम्बित मेयर रामपुकार साहको घूस रिसवत सम्बन्धी मुद्दामा विशेष अदालतले आइतबार ‘लगाउ राख्ने’ आदेश दिएको छ । यसको अर्थ साहको मुद्दासँग जोडिएको अन्य विषयलाई पनि सँगै राखेर सुनुवाइ गरिनेछ ।
मेयर साह गत असार ३२ मा २० लाख बजेटको नाला निर्माणका उपभोक्ता समितिसँग एक लाख रुपैयाँ घूस लिँदै गर्दा नगरपालिका कार्यालयबाटै अख्तियारको टोलीद्वारा पक्राउ परेका थिए ।
बयान फेर्नेविरुद्ध पनि मुद्दा
अख्तियारले साहविरुद्ध साउन २३ मा मुद्दा दायर गरेको थियो । तर, यसै मुद्दासँग जोडिएकी उपभोक्ता समिति अध्यक्ष जसोधा कुमारीले विशेष अदालतमा बकपत्रका क्रममा आफूलाई केही थाहा नभएको भन्दै बयान फेरेकी थिइन् ।
बयान फेरेको भन्दै अख्तियारले मंसिर २६ मा जसोधामाथि पनि एक लाख रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐनअनुसार कैद र जरिवाना माग गर्दै अदालतमा छुट्टै मुद्दा दायर गरेको थियो ।
अब अदालतको ‘लगाउ राख्ने’ आदेशसँगै जसोधाको मुद्दा पनि मेयर साहको मुख्य मुद्दासँगै जोडिनेछ र सँगै सुनुवाइ हुनेछ । अख्तियारले साहमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम कसुर गरेको दाबीसहित कैद मागदाबी गरेको छ ।
Facebook Comments