भिम रावलको दाबी: कांग्रेस–एमालेको दम्भ र हैकमबाद अन्त्य गर्न नेपाली कम्युनिष्ट पार्टी निर्माण

User Image गोविन्द तिमिल्सेना | २०८२ पुष १ गते ०१:०५
Image of https://mayorsap.com/storage/photos/shares/1000057093.jpg

बाजुरा । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्व गृहमन्त्री समेत रहेका भिम रावलले देशका दुई ठूला दल नेपाली काङ्ग्रेस र एमालेको दम्भ, हैकमबाद र अहंकार अन्त्य गर्न नेपाली कम्युनिष्ट पार्टी निर्माण भएको बताएका छन्।

काङ्ग्रेस र एमालेकै खिचलोले देश संहारमा पुगेको बताउँदै नेता रावलले काङ्ग्रेस र एमालेलाई सचेत गराउन तथा देशमा फरक तरिकाले रिवर्तन ल्याउने उद्देश्यसहित नयाँ पार्टी निर्माण गरिएको बताएका हुन्। 

कार्यक्रममा बोल्दै रावलले जेनजी आन्दोलनका क्रममा देशमा भएको हत्या, हिंसा, आगजनीको क्षतीप्रति दुःख व्यक्त गर्दै उक्त घटनाको कारण नै काङ्ग्रेस एमाले रहेको आरोप लगाए ।

सरकारमा बसेर जनताप्रति उत्तरदायी काम गर्न नसकेकाले देशमा संकट निम्तिएको रावलको भनाइ छ। साथै उनले तत्कालिन प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै आन्दोलनको क्रममा सिंहदरबारको रक्षा गर्न नसकेर भागेको आरोप समेत लगाए।नेता रावलले एमाले अध्यक्ष ओलीलाई भगौडाको संज्ञा समेत दिए। 


रावलले देशमा शान्ति र सुशासन कायम गर्न तथा देश विकासका लागि परिवर्तन ल्याउन माओवादी, समाजवादी लगायतका पार्टी मिलेर नेपाली कम्युनिष्ट पार्टी निर्माण गरेको बताए । रावलले भने,“काङ्ग्रेस एमालेको दम्भ, अहंकार स्वीकार्य छैन्। देश विकासको गतिलाई तीव्र रुपमा अगाडि बढाउन नयाँ पार्टी निर्माण गरेका छौं । यस पार्टी जोडिएर देशमा शान्ति, सुशासन कायम गर्न सबैमा आग्रह गर्दछौं। ”


Facebook Comments