भिरबाट घरभित्र ढुङ्गा खस्दा चार जना घाइते
मेयरसाप डेस्क
|
२०८२ पुष २ गते १५:०९
हुम्ला । सर्केगाड गाउँपालिका–४ सर्केगाड बजार बस्ने दनबहादुर रावतको दुई तले कच्ची घरमा भिरबाट अचानक ढुङ्गा खस्दा घरभित्र रहेका चार जना घाइते भएका छन् ।
सर्केगाड गाउँपालिका–८ राहदेउ घर भई सर्केगाड–४ बस्ने दनबहादुर रावतको घरमा भाडा गरी बस्ने सुन्दरलाल विककी श्रीमती २८ वर्षीया सरिता विक, सर्केगाड गाउँपालिका–४ रायागाउँकी २१ वर्षीया लालसरा विक, लालसराकी छ वर्षीया छोरी रेविका र सर्केगाड–८ की प्रवीणा विक घाइते भएका जिल्ला प्रहरी कार्यालय हुम्लाका सूचना अधिकारी शङ्कर खड्काले जानकारी दिए ।
“सरिताको दाहिने गाला र दाहिने हातमा चोट लागेको छ । उनको जिल्ला अस्पताल हुम्लामा उपचार भइरहेको छ । लालसराको टाउकोमा र उहाँकी छोरीको निधारमा चोट लागेको छ । प्रवीणाको पनि टाउकोमा चोट लागेको छ”, उनले भने।
सूचना अधिकारी खड्काले सरिताको उपचार साया स्वास्थ्य चौकीमा हुन नसकेपछि थप उपचारका लागि जिल्ला अस्पताल लगिएको बताए । उनका अनुसार अन्य तीन जनालाई सामान्य चोट लागेकाले उपचार पछि घर फर्काइएको छ ।
यो बस्ती माथिबाट ढुङ्गा खस्ने जोखिममा पर्दै आएको छ । बाजरमाथि ढुङ्गाको भिरालो वन भएकाले जोखिम रहँदै आएको हो । यसअघि पनि सो स्थानमा ढुङ्गा खस्दै आएको स्थानीय प्रकाश शाहीले बताए।
Facebook Comments