काठमाडौं महानगरमा ३० हजारभन्दा बढी विद्यार्थीले पाए छात्रवृत्ति

'शिक्षामा सीप' कार्यक्रम प्रभावकारी

User Image मेयरसाप डेस्क | २०८२ पुष २ गते १५:२५
Image of https://mayorsap.com/storage/photos/shares/kmc-school.jpg

काठमाडौं । काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८१ मा शिक्षा क्षेत्रमा उल्लेखनीय सुधार र उपलब्धि हासिल गरेको छ । महानगरको शिक्षा विभागका अनुसार यस वर्ष ३० हजार ७७९ जना विद्यार्थीले पारदर्शी प्रणालीमार्फत छात्रवृत्तिको अवसर पाएका छन् ।

संस्थागत विद्यालयतर्फ कक्षा १–१० सम्म १९ हजार ३०६ र कक्षा ११–१२ मा ३ हजार ८०१ विद्यार्थीले छात्रवृत्ति पाए । जसमा ५ हजार ८९५ छात्रा र १ हजार ३२२ दलित विद्यार्थी लाभान्वित भ्उ ।

३९ वटा विद्यालयको नाम नेपालीपन झल्किने गरी परिवर्तन गरिएको छ । ५६ हजार विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक र ५८ हजारलाई नियमित दिवा खाजा उपलब्ध गराइएको छ ।

७७ वटा बाल विकास केन्द्रको स्तरोन्नति र ८२ विद्यालयलाई ‘सुन्दर विद्यालय’ परियोजना अन्तर्गत अनुदान दिइएको थियो । ‘पुस्तकरहित शुक्रबार’ मा १८ हजार बढी र ‘शिक्षामा सीप’ कार्यक्रममा ५ हजार विद्यार्थी सहभागी भए ।

शिक्षाका लागि विनियोजित ३ अर्ब २९ करोड रुपैयाँमध्ये ५३.८ प्रतिशत (१ अर्ब ७७ करोड) खर्च भएको छ । संघीय सशर्त अनुदानतर्फ ९२.९ प्रतिशत बजेट कार्यान्वयन भएको विभागले जनाएको छ ।

महानगरभित्र हाल सामुदायिक र संस्थागत गरी कुल ७८४ शैक्षिक संस्था सञ्चालनमा छन्, जहाँ २ लाख ८३ हजार ७३२ विद्यार्थी अध्ययनरत छन् ।

दिवा खाजा र निःशुल्क सेनिटरी प्याड वितरणका कारण विद्यार्थीको उपस्थिति दर बढेको र एसईईको नतिजामा समेत सुधार आएको महानगरको निष्कर्ष छ ।


Facebook Comments