पाटन नगरपालिकाका स्वास्थ्य स्वयंसेविकालाई ‘इन्डक्सन’ चुलो उपहार
दाउरा खोज्ने समय समुदायको सेवामा
मेयरसाप डेस्क
|
२०८२ पुष २ गते २१:५४
बैतडी । बैतडीको पाटन नगरपालिकाले नगर क्षेत्रमा कार्यरत महिला स्वास्थ्य स्वयंसेविकाहरूको कार्यबोझ घटाउन र उनीहरूको योगदानको सम्मान गर्न विद्युतीय इन्डक्सन चुलो वितरण गरेको छ ।
नगरपालिकाले १० वटै वडाका १०९ जना स्वयंसेविकालाई लक्षित गरी यो कार्यक्रम सुरु गरेको हो, जसमध्ये हालसम्म ९४ जनाले चुलो प्राप्त गरिसकेका छन् । चुलोसँगै इन्डक्सनमा प्रयोग हुने एक थान प्रेसर कुकर र कराही समेत प्रदान गरिएको छ ।
स्वास्थ्य शाखा प्रमुख मदन महराका अनुसार दाउरा खोज्न खर्च हुने समय बचत गरी स्वयंसेविकाहरूलाई समुदायको सेवामा थप क्रियाशील बनाउन यो कदम चालिएको हो ।
चुलो पाएपछि स्थानीय स्वयंसेविका निर्मला केसीले अब जंगलमा दाउरा खोज्न जाने समय बचत हुने र सो समय स्वास्थ्य सेवामा लगाउने प्रतिबद्धता जनाइन् ।
नगर प्रमुख गौरीसिंह रावलले नागरिकको स्वास्थ्यमा पुर्याएको योगदानको कदर गर्दै स्वयंसेविकाहरूको हौसला बढाउन यो सामग्री वितरण गरिएको बताए ।
यो कार्यक्रमले स्वयंसेविकाहरूलाई धुवाँरहित भान्साको सुविधा दिनुका साथै उनीहरूको दैनिक कार्यलाई सहज बनाउने विश्वास लिइएको छ ।
Facebook Comments