लहान नगरपालिकामा निःशुल्क पाठेघरको मुखको क्यान्सरसम्बन्धी परीक्षण सुरु
२४ वटै वडामा शिविर सञ्चालन गर्ने तयारी
मेयरसाप डेस्क
|
२०८२ पुष २१ गते १६:५३
सिरहा । लहान नगरपालिका स्वास्थ्य शाखाले पाठेघरको मुखको क्यान्सरसम्बन्धी निःशुल्क परीक्षण सेवा सुरु गरेको छ । लहान–२० र २१ ले संयुक्त रुपमा ‘प्रजनन स्वास्थ्य रुग्णता एकीकृत स्क्रिनिङ तथा व्यवस्थापन’ सम्बन्धी स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।
स्वास्थ्य शाखा प्रमुख विन्देश्वर चौधरीका अनुसार शिविर विशेष गरी ३० वर्षमाथिका महिलालाई लक्षित गरी सञ्चालन गरिएको हो । विपन्न तथा दलित समुदायका महिला बढीजसो पाठेघरसम्बन्धी समस्याबाट पीडित भएकाले आर्थिक अभावका कारण उपचार गराउन नसकिरहेको अवस्थामा सङ्घीय सरकारको कार्यक्रमअन्तर्गत शिविर सञ्चालन गरिएको उनले बताए। आगामी दिनमा नगरका २४ वटै वडामा शिविर सञ्चालन गरिने प्रमुख चौधरीले जानकारी दिए ।
“शिविरबाट समयमै रोगको पहिचान र उपचारमा सहयोग पुग्नेछ”, उनले भने ।
जिल्ला स्वास्थ्य कार्यालयकी अधिकृत तेजकुमारी श्रेष्ठका अनुसार यसअघि गत जेठमा लहान–१५ र १७ मा शिविर सञ्चालन गरिएको थियो । यस्ता शिविरबाट ग्रामीण क्षेत्रका महिलालाई लाभ पुगेको उनको भनाइ छ ।
Facebook Comments