कञ्चनपुरको कापी उद्योगले फेरिदियो महिलाको दैनिकी
घरको कामसँगै हातमा रोजगारी
मेयरसाप डेस्क
|
२०८२ पुष २५ गते ११:१७
काठमाडौं । कञ्चनपुरको कृष्णपुर नगरपालिकाका महिलाहरू अहिले घरायसी काममा मात्र सीमित छैनन् । स्थानीय नारायणदत्त जोशीले ५ वर्षअघि स्थापना गरेको मालिकार्जुन कापी उद्योगले यहाँका १५ भन्दा बढी महिलाहरूलाई घरदैलोमै रोजगारी दिएर आत्मनिर्भर बनाएको छ ।
कुनै समय घाँसपात र घरायसी काममा मात्र व्यस्त रहने यहाँका महिलाहरूको दैनिकी अहिले पूर्णतः फेरिएको छ । उद्योगमा कार्यरत चन्द्र भट्ट र मानमती भट्ट जस्ता स्थानीय महिलाहरू बिहान घरको काम सकेर दिनभर कापीका पाना मिलाउने, साइज काट्ने, पञ्चिङ र प्याकिङ गर्ने जस्ता प्राविधिक काममा व्यस्त रहन्छन् ।
आकर्षक पक्ष त के छ भने, कुनै समयकी चल्तीकी भलिबल खेलाडी गोमती पन्त समेत अहिले यही उद्योगमा काम गरिरहेकी छिन् । बीएड अध्ययन पूरा गरेकी उनले खाली बस्नुभन्दा आफ्नै गाउँमा काम पाउनु गौरवको कुरा भएको बताइन् । खेल क्षेत्रमा रेफ्रीको भूमिका समेत निभाउँदै आएकी उनले खेल नभएको समयमा उद्योगमै काम गरेर आफ्नो खर्च धान्दै आएकी छिन् ।
सिक्ने चरणमा रहेका महिलाहरूले हाल मासिक ८ हजार रुपैयाँसम्म पारिश्रमिक बुझ्ने गरेका छन् । यस आम्दानीले उनीहरूलाई वैदेशिक रोजगारीमा रहेका श्रीमान्को मात्र भर पर्नुपर्ने बाध्यता हटाएको छ । आफ्नै घर छेउमा काम सिक्दै आम्दानी गर्न पाउँदा कृष्णपुरका महिलाहरूमा नयाँ उत्साह देखिएको छ ।
Facebook Comments