देउवालाई शर्माले भने– ‘हिम्मत छ भने चुनाव लड्न मैदानमा आउनुस्’
मेयरसाप डेस्क
|
२०८२ पुष २७ गते १७:४५
काठमाडौं । नेपाली कांग्रेसका नेता सुनिल शर्माले पार्टी सभापति शेरबहादुर देउवा र केन्द्रीय नेतृत्वमाथि कडा आक्रोश व्यक्त गरेका छन् ।
आइतबार सुरु भएको कांग्रेसको दोस्रो विशेष महाधिवेशनलाई सम्बोधन गर्दै शर्माले नेतृत्वले आम कार्यकर्ताको भावना र उपस्थितिको अवमूल्यन गरेको आरोप लगाए ।
सभापति देउवा उद्घाटन समारोहमा अनुपस्थित भएपछि शर्माले टेलिभिजन र सामाजिक सञ्जालबाट कार्यक्रम हेरिरहेका नेताहरूलाई लक्षित गर्दै प्रश्न गरे,– ‘देशैभरिबाट आएका हजारौँ कार्यकर्ता र महामन्त्रीहरूको यो मासुम अनुहारले तपाईंहरूलाई गिज्याइरहेको छ कि छैन?’
उनले कांग्रेस बुद्धका सन्तान भएकाले हिंसामा नभई विचार र सिद्धान्तको मध्यमार्गी बाटोमा विश्वास गर्ने स्पष्ट पारे । देउवालाई ‘पिता समान’ नेताको संज्ञा दिँदै शर्माले अब उमेर र समयको ख्याल गर्दै कार्यकर्ताको भावना बुझ्न आग्रह गरे ।
‘हिजो तपाईंलाई सभापति बनाउने र सत्तामा पुर्याउने कार्यकर्ताको रोइलो नसुन्ने?’ भन्दै शर्माले प्रजातान्त्रिक अभ्यासमा हार र जित जसको भए पनि लोकतन्त्रको जित हुने उल्लेख गरे । उनले चुनावमा हार्ने नेतालाई पनि सम्मानपूर्वक बिदाइ गर्ने संस्कार कांग्रेसमा रहेको स्मरण गराए ।
उनले देउवालाई भोलि बिहानसम्म हलमा आएर नेतृत्वका लागि चुनाव लड्ने चुनौती समेत दिए ।
Facebook Comments