रिज लाइन इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
मेयरसाप डेस्क
|
२०८२ पुष २८ गते १०:५४
काठमाडौं । रिज लाइन इनर्जी लिमिटेडको प्रारम्भीक सार्वजनिक निष्काशन (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि कम्पनीले पुस १३ गतेदेखि आईपीओ खुला गरेको हो ।
कम्पनीले जारी पूँजी १ अर्ब १८ करोड ५० लाख रुपैयाँको २२ प्रतिशत अर्थात २६ करोड ७ लाख रुपैयाँ बराबरको २६ लाख ७ हजार कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको छ । यसमध्ये प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ११ लाख ८५ हजार कित्ता साधारण शेयर (११ करोड ८५ लाख रुपैयाँ बराबर) आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि छुट्याइएको छ । सो आईपीओमा गोरखा जिल्लाको अजिरकोट गाउँपालिकाका सबै वडाका बासिन्दा तथा लमजुङ जिल्लाको दूधपोखरी गाउँपालिकाको वडा नं. १, २ र ३ तथा दोर्दी गाउँपालिकाको वडा नं. ४, ५ र ६ का स्थानीय बासिन्दाहरूले आवेदन दिन सक्नेछन् ।
आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ । रिज लाइन इनर्जी लिमिटेडले सञ्चालन गरेको ९।०५ मेगावाट क्षमताको सुपर चेपे जलविद्युत आयोजनाको कुल लागत २ अर्ब ९ करोड ६० लाख रुपैयाँ रहेको छ । आयोजनाको प्रतिमेगावाट लागत २३ करोड १६ लाख रुपैयाँ रहेको छ । सो आयोजनाको विद्युत उत्पादन अनुमतिपत्रको अवधि ३० वर्ष ११ महिना बाँकी रहेको छ । आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ७ वर्ष ४ महिना तथा डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १० वर्ष ९ महिना रहेको छ । उक्त जलविद्युत आयोजना २०८० माघ ८ गतेदेखि व्यवसायिक रूपमा सञ्चालनमा आएको हो र उत्पादित विद्युत राष्ट्रिय प्रसारण लाइनमा जडान गरी बिक्री भइरहेको कम्पनीले जनाएको छ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूले रिज लाइन इनर्जीको आयोजना कार्यालय, गोरखा, प्रभु क्यापिटल लिमिटेड, कमलादी, प्रभु बैंकको छेपेटार र पालुङटार शाखाबाट आवेदन दिन सक्नेछन् । साथै, प्रभु क्यापिटलले निर्माण गरेको अनलाइन आवेदन प्रणाली मार्फत पनि आवेदन दिन सकिनेछ ।
Facebook Comments