देउवालाई विशेष महाधिवेशनमा सहभागी भएर सम्मानजनक बिदाई लिन आग्रह
मेयरसाप डेस्क
|
२०८२ पुष २८ गते ११:३८
काठमाडौं । क्लब हाउसमा सक्रिय साझा चौतारी ग्रुपले कांग्रेसका सभापति शेरबहादुर देउवालाई विश्वप्रकाश शर्मा र गगनकुमार थापाको सक्रियतामा आयोजना भएको विशेष महाधिवेशनमा सहभागी भएर सम्मानजनक बिदाई लिन र युवा पंक्तिलाई पार्टी हस्तान्तरण गर्न अनुरोध गरेको छ ।
साझा चौतारी ग्रुपका सक्रिय सदस्यहरूले गएको भदौ २३ र २४ मा भएको जेनजी समूहको विद्रोहले नेपालको राजनीतिक धार परिवर्तन गरेकोले कांग्रेसले समयानुकूल परिवर्तन खोज्दा देउवालाई सम्मानजनक बिदाई लिन आग्रह गरेका हुन् ।
चौतारी ग्रुपले इमेलमार्फत कांग्रेस नेतृत्वलाई एक पत्र पठाउँदै आज विशेष महाधिवेशनमा सहभागी भएर राजनीतिमा दिएको योगदानलाई उच्च सम्मानका साथ बिट मार्न अनुरोध गरेको छ ।
पछिल्लो दिनमा कांग्रेसमा नियमित महाधिवेशन गर्नुपर्ने भन्ने समूह र विशेष महाधिवेशन गर्ने समूहबीच दूरी बढिरहेको छ । देउवालगायतका संस्थापन पक्षलाई पेलेरै गगन–विश्वको टिमले विशेष महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरिसकेको छ ।
आजको महाधिवेशनले नेतृत्व छान्ने वा नीति मात्रै सुधार गरेर चुनावमा जाने भनेर छलफल चलाइरहेको छ। देउवा विशेष महाधिवेशनमा सहभागी भएमा नीति मात्रै परिवर्तन गरेर जाने भन्ने समूहको बाहुल्यता पनि देखिएको छ । तर देउवा विशेष महाधिवेशनमा सहभागी नहुने उनको सचिवालयले जनाइसकेको छ। देउवालगायत संस्थापन पक्षको सहभागिताबिना महाधिवेशन पूरा गर्दा कांग्रेस पार्टी फुट्ने आशंका पनि बढेको छ। त्यही भएर देउवालाई महाधिवेशनमा सहभागी गराउन कांग्रेसका कार्यकर्ता तथा सुभेच्छुक संस्थाहरु सक्रिय भएका छन्।
Facebook Comments