राष्ट्र बैंकले आज २५ अर्ब रुपैयाँको एक वर्षे ऋणपत्र जारी गर्ने
मेयरसाप डेस्क
|
२०८२ पुष २८ गते १४:१०
काठमाडौं । नेपाल राष्ट्र बैंकले अधिक तरलता व्यवस्थापन गर्ने उद्देश्यले आज २५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ । केन्द्रीय बैंकले अनलाइन बोलकबोल प्रणालीमार्फत ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ छ’ नामक १ वर्षे अवधिको ऋणपत्र निष्कासन गर्न लागेको हो ।
यस ऋणपत्रको साँवा भुक्तानी २०८३ पुस २८ गते हुने राष्ट्र बैंकले जनाएको छ भने ब्याज भुक्तानी अर्धवार्षिक रूपमा गरिनेछ । ऋणपत्रको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू (काउन्टरपार्टी) मात्र सहभागी हुन पाउनेछन् ।
बोलकबोल ब्याजदरमा गर्नुपर्ने व्यवस्था गरिएको छ र बहुब्याजदरमा पनि बोलकबोल गर्न सकिनेछ । ऋणपत्रको अन्तिम ब्याजदर बोलकबोल प्रक्रियाबाटै निर्धारण हुने केन्द्रीय बैंकले स्पष्ट पारेको छ । बोलकबोल आज दिउँसो २ बजे अनलाइन माध्यमबाट हुनेछ ।
आह्वान गरिएको रकम बाँडफाँट गर्दा बोलकबोलमा प्रस्तावित ब्याजदरलाई सानोदेखि ठूलो क्रममा राखी आह्वान रकमसम्म वा समितिले तोकेको बाँडफाँट रकमसम्म कायम हुने ब्याजदरलाई एकल ब्याजदरका रूपमा निर्धारण गरिनेछ ।
सो एकल ब्याजदरमा उक्त दर तथा सोभन्दा कम ब्याजदर प्रस्ताव गर्ने सहभागीहरूलाई नेपाल राष्ट्र बैंकले ऋणपत्र बिक्री गर्ने जनाएको छ । केन्द्रीय बैंकका अनुसार यो कदम वित्तीय प्रणालीमा रहेको अधिक तरलता नियन्त्रण गर्दै मौद्रिक व्यवस्थापनलाई सन्तुलित राख्ने उद्देश्यले लिइएको हो ।
Facebook Comments