हेटौँडा सडक विस्तार विवाद : पाँचौँ पटक पनि भएन सुनुवाइ
हेटौँडाको मुख्य बजार अस्तव्यस्त
मेयरसाप डेस्क
|
२०८२ पुष २९ गते १७:२१
हेटौँडा । हेटौँडाको मुख्य बजार क्षेत्र २५ मिटर विस्तार गर्ने कार्यविरुद्ध परेको रिटमा मंगलबार पनि सुनुवाइ हुन सकेन ।
न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासमा तोकिएको पेसी पाँचौँ पटक पनि ‘हेर्न नभ्याइने’ सूचीमा परेको हो । अब अर्को पेसी माघ ६ गतेका लागि तोकिएको छ ।
सडक विस्तारका क्रममा मुआब्जा र कानुनी प्रक्रिया पूरा नगरी घर भत्काउन लागिएको भन्दै स्थानीय विन्दवासिनी कंसाकारसहितले सर्वोच्चमा रिट दायर गरेका थिए ।
यसअघि सर्वोच्चले सडक विस्तार तत्काल अघि नबढाउन ’अल्पकालीन अन्तरिम आदेश’ जारी गरेको थियो । अदालतको अन्तिम निर्णय नआउँदा सडक विभाग ‘हात बाँधेर’ बस्न बाध्य भएको छ, भने मंसिर २० गते भत्काइएका संरचनाका कारण हेटौँडा बजार क्षेत्र अहिले निकै अस्तव्यस्त बनेको छ ।
रातोमाटेदेखि राप्तीपुल र बुद्धचोकदेखि चौकी टोलसम्मको ९.५ किलोमिटर सडक खण्डमा पर्ने करिब ५ सय संरचना भत्काउने काम सुरु भए पनि कानुनी जटिलताका कारण व्यवस्थापन र विस्तारको काम ठप्प छ ।
Facebook Comments