भीमसेन थापा गाउँपालिकाको १७ औं अधिवेशनबाट चार विधेयक पारित

User Image मेयरसाप डेस्क | २०८२ पुष ३० गते ०७:३२
Image of https://mayorsap.com/storage/photos/shares/bhimsen.JPG

गोरखा । गोरखाको भीमसेनथापा गाउँपालिकाको गाउँसभाको १७ औँ अधिवेशनबाट चारवटा विधेयक सर्वसम्मत पारित भएको छ । मंगलबार सम्पन्न अधिवेशनबाट आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व, खाद्य अधिकार तथा खाद्य सम्प्रभुता, वातावरण तथा प्राकृतिक स्रोतसम्बन्धी विधेयकसहित आर्थिक वर्ष २०८२/०८३ को बजेट तथा कार्यक्रम संशोधन प्रस्ताव सर्वसम्मतले पारित गरिएको गाउँपालिका अध्यक्ष लोकप्रसाद बन्जराले जानकारी दिए ।

साथै आर्थिक ऐन संशोधन विधेयक पनि पारित भएको उनले बताए । अधिवेशनमा ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक–२०८२’ संस्थागत विकास, सुशासन तथा सेवा प्रवाह समितिका संयोजक गोपाल विकले सभामा पेस गरेका थिए । ‘खाद्य अधिकार तथा खाद्य सम्प्रभुतासम्बन्धी विधेयक–२०८२’ आर्थिक विकास समिति संयोजक होमबहादुर बरामुले पेस गरेका हुन् ।

यस्तै ‘वातावरण तथा प्राकृतिक स्रोतसम्बन्धी विधेयक–२०८२’ वन, वातावरण तथा विपद व्यवस्थापन समितिका संयोजक नारायणप्रसाद भट्टराईले सभासमक्ष पेस गरेको उनले बताए । आव २०८२र८३ को बजेट तथा कार्यक्रम संशोधन प्रस्ताव र ‘आर्थिक ऐन–२०८२’ संशोधन विधेयक उपाध्यक्ष अमृतादेवी भट्ट (वस्ती)ले पेस गरेका थिए ।

अधिवेशनमा उपाध्यक्ष भट्टले नै पेस गरेको न्यायिक समितिको अर्धवार्षिक प्रतिवेदन र राजस्व परामर्श समितिको अर्धवार्षिक प्रतिवेदन पनि सर्वसम्मत पारित भएको अध्यक्ष बन्जराले बताए । लेखा समितिको प्रतिवेदन, सुशासन समितिको प्रतिवेदन र विधायन समितिको प्रतिवेदन पनि सभामा प्रस्तुत भएको थियो ।

यसैगरी लेखा समिति गठन तथा कार्यसञ्चालन कार्यविधि–२०८२, बेरुजु फछ्र्योट कार्यविधि–२०८२ र गाउँसभा सचिवालय स्थापना तथा कार्यसञ्चालन कार्यविधि–२०८२ माथि छलफल भई स्वीकृत गरिएको छ । 


Facebook Comments