आफूविरुद्ध लगाइएका मुद्दा फिर्ता लिन सरकारसँग रविकाे माग

'राजनीतिक पूर्वाग्रहले मुद्दा चलाइयो'

User Image मेयरसाप डेस्क | २०८२ पुष ३० गते १२:२२
Image of https://mayorsap.com/storage/photos/shares/rabi-lamichhane_1.jpg

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले आफूविरुद्ध लगाइएका संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा फिर्ता लिन महान्यायाधिवक्ता कार्यालयमा पूरक निवेदन दिएका छन् ।

सहकारी ठगीको आरोपमा बढी कैद सजाय दिलाउने र थुनामा राख्ने उद्देश्यले राजनीतिक पूर्वाग्रह राखेर थप मुद्दाहरू जोडिएको दाबी गर्दै उनले पूरक निवेदन दिएका हुन् ।

महान्यायाधिवक्ता कार्यालय स्रोतका अनुसार, लामिछानेले थुनामुक्त हुनुअघि र पछि गरी दुई पटक निवेदन दिइसके । हाल यो निवेदन सहन्यायाधिवक्ताको तहमा अध्ययन भइरहेको जनाइएको छ ।

यद्यपि, फौजदारी कार्यविधि संहिता २०७४ र सरकारी निर्देशिका अनुसार संगठित अपराध र सम्पत्ति शुद्धीकरण जस्ता गम्भीर मुद्दाहरू फिर्ता लिन नमिल्ने कानुनी प्रावधान छ ।

विभिन्न सहकारीको रकम गोर्खा मिडियामा अपचलन गरेको आरोपमा लामिछानेमाथि कास्की, रुपन्देही र काठमाडौं लगायतका जिल्ला अदालतमा मुद्दा चलिरहेको छ । केही साताअघि मात्र उनी उच्च अदालतको आदेशमा धरौटी र बैंक जमानतमा रिहा भएका थिए ।


Facebook Comments