किसानलाई सखरखण्ड खन्नेदेखि बिक्रीका लागि भ्याइ नभ्याइ
मेयरसाप डेस्क
|
२०८२ पुष ३० गते १४:२३
दाङ । दाङको देउखुरी राप्ती नदी उकास जमिन, पाँगो बलौटे माटो । बिहान पुसको चिसो सिरेटोको बेवास्ता नराखी किसान फरुवा चलाउँदै सखरखण्ड निकाल्न व्यस्त छन् ।
कोही सखरखण्ड खन्दै, कोही भने टिप्दै र थुपार्दैछन् भने कोही बजार पठाउनका लागि बोरामा भर्दैछन् । घरका परिवारले मात्र नभ्याउने भएपछि अन्य कामदार लगाएर किसान सखरखण्ड खनिरहेका छन् ।
राजपुर गाउँपालिका–३ खरदरियाका किसान रामछोर यादव समयमै खनेर बजारमा पुर्याउन सके राम्रो मुनाफा हुने भएकाले किसानले सखरखण्ड खन्दै बिक्री गर्ने काम गरिरहेको बताए ।
तीन बिघा जमिनमा सखरखण्डखेती गरेका यादवले एक बिघामा रोपेको करिब ३५ क्विन्टल सखरखण्ड बिक्री गरिसकेको बताए । दुई बिघा जमिनमा रोपेको सखरखण्ड खन्ने काम भइरहेको छ, खन्न सके सखरखण्ड लिन व्यापारी रोपेको ठाउँमै आउने गरेका छन्, बिक्रीका लागि कुनै समस्या छैन, उनी भन्छन् ।
व्यापारीलाई भनेको समयमा समान दिइसक्नुपर्छ । करिब डेढ लाख रुपैयाँको सखरखण्ड बिक्री गरिसकेका यादव यो वर्ष एक सय क्विन्टल बढी उत्पादन भए रु तीन लाख ५० हजारसम्मको बिक्री हुने बताउछन् ।
उनका अनुसार सेतो सखरखण्ड प्रतिकिलो रु ४० देखि ४५ र रातो सखरखण्ड रु ४५ देखि ४९ मा बिक्री भइरहेको छ । अन्य कृषि बालीको तुलनामा कम मिहिनेत र लगानीमै राम्रो आम्दानी लिन सकिने भएपछि धेरै किसानले पछिल्लो समय सखरखण्ड खेती गरेका सोही ठाउँका अर्का किसान धर्मप्रसाद यादव बताउछन् ।
माघे सङ्क्रान्तिमा सखरखण्ड खाने चलन रहेकाले बजारमा यसको व्यापार बढ्दै गएको सोही ठाउँका अर्का किसान सीता यादव बताउछिन् । यो समयमा राम्रो बिक्री हुने भएकाले आम्दानी पनि मनग्य हुने उनको भनाइ छ ।
राजपुर गाउँपालिका–३ र ४ नं वडाका २०० भन्दा बढी किसानले एकदुई कट्ठादेखि तीनचार बिघासम्म सखरखण्डको खेती गरेका छन् । एउटा किसानले थोरैमा रु २०–२५ हजारदेखि बढीमा रु ५–६ लाखसम्म यही समयमा सखरखण्ड बेचेर आन्दानी गर्छन् भने रु दुई करोड बढी पैसा गाउँ भित्रिन्छ । सखरखण्ड लिनका लागि व्यापारी बारीमै पुग्छन् ।
गत वर्ष रु ५० देखि ५५ प्रतिकिलो सखरखण्ड बिक्री गरेका किसानले यस वर्ष रु ४० देखि ४५ प्रतिकिलोका दरले सखरखण्ड बिक्री गरिरहेका छन् । बिक्रीका लागि समस्या नभए पनि बिचौलियाका कारण उचित मूल्य नपाएको किसानको गुनासो छ । कम मिहिनेत र लगानीमा छोटो समयमा राम्रो आम्दानी हुने सखरखण्ड भदौमा रोपिन्छ भने पुसको दोस्रो साताबाट खन्न सुरु हुन्छ ।
देउखुरीको राजपुरमा उत्पादन भएको सखरखण्ड लमही, घोराही, तुलसीपुर बजारका साथै वुटवलदेखि कोहलपुर र सुर्खेतसम्म पनि पुग्ने गरेको किसान बताउँछन् ।
Facebook Comments