भरतपुर महानगरको प्रशासकीय भवन तयार, प्रचण्डले उद्घाटन गर्दै

एउटै भवनबाट सेवाग्राहीले पाउनेछन् सबै सुविधा

User Image मेयरसाप डेस्क | २०८२ माघ १ गते १८:०१
Image of https://mayorsap.com/storage/photos/shares/photo_60.jpg

चितवन । भरतपुर महानगरपालिकाको नवनिर्मित अत्याधुनिक चारतले प्रशासकीय भवन निर्माणको अन्तिम चरणमा पुगेको छ । कुल ५३ करोड ३२ लाख ६४ हजार रुपैयाँ लागतमा निर्माण भएको यो भव्य भवनको भोलि शुक्रबार नेकपा अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले एक विशेष समारोहका बीच उद्घाटन गर्ने तयारी गरिएको छ ।

सम्झौता भएको साढे दुई वर्षमा तयार भएको यस भवनलाई बाहिरी स्वरूपका कारण धेरैले सिंहदरबारसँग तुलना गरिरहेका छन् । हाल भवनका चारमध्ये दुई तला पूर्ण रूपमा तयार भइसकेका छन्, भने बाँकी तलाहरूको फिनिसिङ र फर्निसिङको काम यसै वर्षको अन्त्यसम्ममा सम्पन्न हुने महानगरले जनाएको छ ।

क्लासिकल डिजाइनमा बनेको यस भवनमा १५८ वटा कार्यकक्ष, दुईवटा ठूला सभाहल र आठवटा मिटिङ कक्षहरू रहेका छन् । अपाङ्गता मैत्री यो भवनमा दुईवटा लिफ्ट, सेन्ट्रल एसी, पुस्तकालय, नागरिक कक्ष र स्तनपान कक्ष जस्ता आधुनिक सुविधाहरू समावेश गरिएको वरिष्ठ डिभिजनल इन्जिनियर सन्तोष आचार्यले जानकारी दिए ।

७ कठ्ठा क्षेत्रफलमा फैलिएको यस भवनको बेसमेन्टमा ५० वटा गाडी र १५० वटा मोटरसाइकल पार्किङ गर्न सकिने क्षमता छ । संघ, प्रदेश र महानगरपालिकाको त्रिपक्षीय लगानीमा बनेको यो भवनबाट अब महानगरका सबै महाशाखाहरूले एकीकृत रूपमा सेवा प्रवाह गर्नेछन् ।


Facebook Comments