पोखरा विमानस्थल प्रकरण : विशेषको आदेशविरुद्ध अख्तियार सर्वोच्चमा
आरोपितलाई थुनामै राख्न माग
मेयरसाप डेस्क
|
२०८२ माघ २ गते १७:१०
काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको अर्बौँको भ्रष्टाचार मुद्दामा आरोपितहरूलाई कम धरौटी र साधारण तारेखमा छाड्ने विशेष अदालतको निर्णयविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालत पुगेको छ ।
अख्तियारले शुक्रवार सर्वोच्चमा निवेदन दिँदै विशेषको आदेश बदर गरी प्रतिवादीहरूलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न माग गरेको हो ।
विशेष अदालतले तत्कालीन आयोजना प्रमुख प्रदीप अधिकारीलाई ५ लाख र मुरारी भण्डारीलाई १ लाख धरौटीमा तथा अन्य ५ जनालाई साधारण तारेखमा छाड्ने आदेश दिएको थियो ।
अख्तियारले करिब ८ अर्ब ३६ करोड ७३ लाख रुपैयाँ बिगो भएको गम्भीर मुद्दामा यस्तो न्यून धरौटी र साधारण तारेखको आदेश त्रुटिपूर्ण रहेको दाबी गरेको छ ।
चिनियाँ कम्पनीसँगको मिलेमतोमा लागत अस्वाभाविक रूपमा बढाएर राज्यलाई अर्बौँ नोक्सानी पुर्याएको अभियोगमा उनीहरू बाहिर रहँदा प्रमाण लोप हुनसक्ने अख्तियारको जिकिर छ ।
अख्तियारले सर्वोच्चमा पेस गरेको ७ बुँदे आधारमा बिगोको तुलनामा धरौटी ज्यादै न्यून हुनु, समान कसुरमा असमान आदेश हुनु र निर्णय प्रक्रियामा संलग्न सबै तहका अधिकारीलाई जिम्मेवार ठहर्याउनुपर्ने पिरामिड शैलीको सिद्धान्तलाई विशेषले बेवास्ता गरेको उल्लेख छ ।
Facebook Comments