बाजुरामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
गोविन्द तिमिल्सेना
|
२०८२ माघ २ गते १७:५४
बाजुरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि बाजुराको सदरमुकाम मार्तडीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
शुक्रवार मुख्य निर्वाचन अधिकृत सञ्जीव पोखरेलले जिल्ला कृषि ज्ञान केन्द्रको भवनमा कार्यालयको उद्घाटन गर्दै निर्वाचनका औपचारिक गतिविधि सुरु गरेका हुन् ।
कार्यालय उद्घाटनपछि मुख्य निर्वाचन अधिकृत पोखरेलले बाजुरामा विगतका निर्वाचनमा अप्रिय घटना भएकाले यसपटक जिल्लाको इज्जत जोगाउन शान्तिपूर्ण र भयरहित चुनाव गराउनु मुख्य चुनौती रहेको बताए ।
२०७९ को निर्वाचनमा दुई जनाले ज्यान गुमाएको स्मरण गर्दै उनले सुरक्षा अवस्थाको सूक्ष्म आँकलन गरी मतदान केन्द्रहरूको वर्गीकरण गरिने जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले पनि सुरक्षा संयन्त्रलाई विशेष रूपमा परिचालन गरी धाँधलीरहित वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरे ।
बाजुरामा यसपटक ७ मतदानस्थल र ६ मतदान केन्द्र थपिएका छन् । हाल जिल्लामा ९ स्थानीय तहअन्तर्गत ७७ वटा मतदानस्थल र ११८ वटा मतदान केन्द्र निर्धारण गरिएको छ ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार बाजुरामा कुल ८७ हजारभन्दा बढी मतदाता रहेका छन्, जसमा ४५ हजार ४२८ पुरुष, ४२ हजार ४३१ महिला र २ अन्य रहेका छन् ।
Facebook Comments