बैतडीका दुई पालिका हाकिमविहीन, बाटोबाटै हराउँछन् कर्मचारी

तलब र भत्ता नपाउँदा कर्मचारी र वृद्धवृद्धा मर्कामा

User Image मेयरसाप डेस्क | २०८२ माघ ४ गते १०:२६
Image of https://mayorsap.com/storage/photos/shares/sthaniya.jpg

बैतडी । प्रमुख प्रशासकीय अधिकृत नहुँदा जिल्लाका दुई स्थानीय तहमा आर्थिक–प्रशासनिक कामकाज ठप्प भएको छ । जिल्लाको सुर्नया र पञ्चेश्वर गाउँपालिका महिनौँदेखि प्रमुख प्रशासकीय अधिकृतविहीन छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यी दुईवटै स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत पठाए पनि गाउँपालिकामा हाजिर नभई बाटोबाटै अन्यन्त्र सरुवा गरिदिएपछि गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन भएका हुन् ।

सुर्नया गाउँपालिका अध्यक्ष अमरबहादुर कुँवरले प्रमुख प्रशासकीय अधिकृत नहुँदा आर्थिक तथा प्रशासनिक काम रोकिएको जानकारी दिए । “पटकपटक मन्त्रालयलाई आग्रह गर्दा बल्लतल्ल पठाएको प्रमुख प्रशासकीय अधिकृत पनि बाटैबाट सरुवा गरिदिएछ । त्यो समस्या समाधान हुनसकेको छैन”, उनले भने । 

सुर्नयाका प्रमुख प्रशासकीय अधिकृत वसन्तबहादुर धानुकको निर्वाचन आयोगमा सरुवा गएिको थियो । पछि गत पुस ६ गते मन्त्रालयले खगेन्द्र भारतीलाई प्रमुख प्रशासकीय अधिकृत पठाएको थियो । भारतीलाई पनि गाउँपालिकामा हाजिर नै नहँुदै जिल्ला निर्वाचन कार्यालय बैतडी सरुवा गरिएको थियो । 

यस्तै, कात्तिक अन्तिम साता मन्त्रालयले पञ्चेश्वर गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत दलबहादुर धामीको बैतडीकै मेलौली नगरपालिकामा सरुवा गरेको थियो । मन्त्रालयले पुस १४ गते वीरसिंह भण्डारीलाई यहाँ प्रमुख प्रशासकीय अधिकृतमा खटाए पनि हालसम्म हाजिर नभएको गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताए ।

आफू बिदामा रहेकाले हालेसम्म मन्त्रालयले सरुवा गरेको जानकारी नपाएको पञ्चेश्वरमा खटाइएका प्रमुख प्रशासकीय अधिकृत भण्डारीको भनाइ छ । प्रमुख प्रशासकीय अधिकृत नहुँदा योजना कार्यान्वयन, सामाजिक सुरक्षा भत्ता र तलब निकासाका लागिसमेत समस्या भएको दुवै पालिकाले जनाएका छन् ।


Facebook Comments