कमला नगरपालिकाका पूर्वमेयर गोइतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

घाट निर्माणमा अनियमितता गरेको आरोप

User Image मेयरसाप डेस्क | २०८२ मंसिर ११ गते २२:४७
Image of https://mayorsap.com/storage/photos/shares/akhtiyar-1.jpg

काठमाडौं । धनुषाको कमला नगरपालिकाका तत्कालीन मेयर रामउदगार गोइतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार गोइतसहित नगरपालिकाका तत्कालीन कर्मचारीहरुलाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको हो । 

उनीहरुमाथि लग्मा बजारस्थित पोखरीको डिलमा माटो पुर्ने तथा घाट निर्माणमा अनियमितता गरेको आरोप छ । अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार, २९ लाख ४४ हजार १३७ रुपैयाँ बिगो कायम गरी कैद र जरिवाना तथा हिनामिना भएको रकम असुलउपरको मागदावी लिइएको छ ।

नगरपालिकाका तत्कालीन नगर प्रमुख गोइत, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रकुमार सढान, लेखापाल संजीवकुमार महतो, जिन्सी शाखा प्रमुख जुगल किशोर यादव, नगरपालिकाका तत्कालीन कार्यपालिका सदस्यहरु धनेश्वर यादव, धर्मनाथ मण्डल, पल्टु कवारी, विनोद राम र समसुल मिया मोमिन तथा ठेकेदार इन्फ्रास्टक्चर एस एण्ड बी बिल्डर्स प्रालिका अध्यक्ष सन्तोषकुमार यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।

आर्थिक वर्ष २०७६/७७ का लागि करसहित ७५ लाख लागत अनुमान स्वीकृत गरिएको आयोजनाका लागि कमला नगरपालिकाले २०७६ चैत १८ मा राष्ट्रिय स्तरको बोलपत्र आह्वान गरेको थियो । मूल्यांकन समितिले सबैभन्दा कम कबोल गर्ने सेट स्क्वायर कन्सट्रक्सन प्रा.लि. (कबोल: रु. ४२,७४,५५१.७१) लाई सारभूत रूपमा प्रभावग्राही भनी सिफारिस गरेको थियो । तर, समितिको सिफारिसबमोजिम खरिद प्रक्रिया अघि नबढाइ, तत्कालीन निमित्त कार्यालय प्रमुखलगायतका अधिकारीहरूले कार्यपालिका बैठकमार्फत निर्णय प्रभावित पारी ठेक्का प्रक्रिया कमजोर बनाएको अनुसन्धानमा खुलेको अख्तियारले जनाएको छ।

अख्तियारका अनुसार, सेट स्क्वायर कन्सट्रक्सनले २०७७ जेठ १४ मा सम्झौता गर्न माग गर्दै नेपाल बंगलादेश बैंक (हाल नबिल बैंक) द्वारा जारी रु. ६,४८,००० बराबरको पर्फमेन्स बन्डसहित निवेदन पेस गरेको तर, नगरपालिकाका कर्मचारीहरूले सो निवेदन तथा जमानतसम्बन्धी कागजात नियत बस लुकाएको समेत पुष्टि भएको अख्तियारले जनाएकाे छ ।

महालेखा परीक्षकको २०७८/७९ को प्रतिवेदनमा समेत उक्त निवेदन समावेश रहेको पाइएको अख्तियारले जनाएको छ ।


Facebook Comments